माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने
  • जरूवाखबर

  • काठमाडौँ। माओवादी केन्द्रले हालको केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने भएको छ ।

    पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने, सोको संयोजन स्वयं अध्यक्षले गर्ने र प्रस्ताव लैजाने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । ‘पार्टीभित्र एकता कायम गर्न र वर्तमान परिस्थितिको मागअनुरूप केन्द्रीय समिति भंग गरी अध्यक्षकै संयोजनमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत गर्ने निर्णय भएको छ । साथै विशेष महाधिवेशनको मिति तोक्ने प्रस्ताव पनि गरिएको छ,’ प्रवक्ता सापकोटाले भने ।

    यससम्बन्धी प्रस्तावमाथि छलफल गर्न माओवादी केन्द्रले यही असोज ९ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकले पदाधिकारी बैठकको प्रस्तावमाथि छलफल गरी निर्णय लिनेछ । हालैको जेनजी आन्दोलनपछि राजनीतिक दलमा पुस्तान्तरणको दबाव बढिरहेको सन्दर्भमा यो कदम अघि सारिएको हो । बैठकले घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सरकारलाई ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ । सरकारले प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते गर्ने घोषणा गरिसकेको छ ।

    यस्तै, माओवादी केन्द्रले जेनजीसहित लोकतान्त्रिक र अग्रगामी शक्तिहरूसँग वार्ता र समझदारी कायम गर्ने, समाजवादी मोर्चा तथा समान विचारधारासँग एकता गर्ने र वृहत मोर्चा निर्माण गर्न पहल गर्ने निर्णय गरेको छ । रासस

  • ८ आश्विन २०८२, बुधबार २२:३६ प्रकाशित