मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु

१६वर्ष पुगेकाले कार्तिक ३० गतेसम्म दर्ता गर्न पाउने

  • जरूवाखबर

  • काठमाण्डौ । आगामी २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति घोषणासँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्यक्रम सञ्चालन गर्ने भएको छ। आयोगको निर्णय अनुसार यही कार्तिक ३० गते सम्म देशभरका प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु भएको हो।

    यस कार्यक्रमअन्तर्गत अघिल्लो मतदाता नामावलीमा नाम दर्ता नभएका १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका नेपाली नागरिकहरूले आफ्नो नाम दर्ता गर्न सक्नेछन्। बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता हुने व्यवस्था गरिएको आयोगले जनाएको छ। साथै, आयोगको वेबसाइट www.election.gov.np वा applyvr.election.gov.np  मार्फत अनलाइनमार्फत आवेदन दिई निर्वाचन कार्यालयमै गएर जैविक  बायोमेट्रिक  विवरण उपलब्ध गराउनु पर्ने छ ।

    आयोगका अनुसार, अघिल्लो नामावलीमा नाम दर्ता गरिसकेका तर ठेगाना परिवर्तन, विवाहलगायत कारणले विवरण परिमार्जन गर्नुपर्ने नागरिकहरूले समेत अद्यावधिक कार्यक्रममा भाग लिन सक्नेछन्।

    निर्वाचन आयोगले सम्पूर्ण योग्य नेपाली नागरिकलाई आफ्नो नाम मतदाता नामावलीमा दर्ता गर्न तथा विवरण परिमार्जन गरी आगामी २०८२ साल फागुन २१ गते हुने निर्वाचनमा सहभागी भई आफ्नो मतदान अधिकार प्रयोग गर्न आग्रह गरेको छ।

  • ९ आश्विन २०८२, बिहीबार २२:१३ प्रकाशित