पुम्दी–भुम्दी पर्वतीय दौडमा सुदूरपश्चिमका रावत प्रथम
  • जरूवाखबर

  • पोखरा । दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको उपाधि सुदूरपश्चिमका नरेन्द्रसिंह रावतले जितेका छन् । रावतले निर्धारित आठ किमी दुरी ३५ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै नगद ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    प्रतियोगितामा सुदूरपश्चिमकै करन रावल दोस्रो र कर्णालीका दलबहादुर कुँवरले तेस्रो स्थान प्राप्त गर्न सफल भए । करनले निर्धारित दूरी ३६ मिनेट ३३ सेकेण्डमा र दलबहादुरले ३७ मिनेट १६ सेकेण्ड लगाएको निर्णायक ओमबहादुर गुरुङले जानकारी दिए । दोस्रो हुनेले ३० हजार र तेस्रोले १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    यसैगरी गौतम श्रेष्ठ चौथो हुँदै सात हजार जिते भने पाँचौं भएका सफल लामाले तीन हजार प्राप्त गरे । छैटौंदेखि दशौंसम्म क्रमशः पञ्चराम बुढा, बुद्धिराम गुरुङ, जोगेन्द्र बुढा, तेञ्जोन रोका मगर र इमोन गुरुङले जनही एक हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

    विदेशी पर्यटकतर्फ फ्रान्सका थियो डनेटले ४९ः५१ मिनेटमा पूरा गर्दा भेट्रान्सतर्फ गण्डकीबाट किशोर थापा प्रथम भए । किशोरले उक्त दुरी ५१ः०१ मिनेटमा पूरा गरे । उनीहरूले जनही १५ हजार प्राप्त गरे ।

    वडा २२ स्तरतर्फ कुशल परियारले ४९ः१५ मिनेटमा दूरी पुरा गर्दै प्रथम र ५१ः०३ मिनेटमा दूरी पुरा गर्दै सुज्जल परियार द्धितिय हुन सफल भए ।

    महिलातर्फ कोशीकी पदमकुमारी सुनुवारले ५३ः३९ मिनेटमा दूरी पूरा गरी प्रथम स्थान प्राप्त गर्न सफल भईन् भने बागमतीकी नीतु तामाङले ५७ मिनेट ४६ सेकेण्डमा पार गर्दै दिद्धिय स्थान हात पारिन्। वडा र महिलातर्फ प्रथम र द्धितिय हुनेले जनही १५ हजार र ७ हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    यू–१६ मा गण्डकीका प्रकाश थिङ प्रथम, तीलबहादुर परियार द्धितिय र कमल पौडेलले तृतीय स्थान प्राप्त गर्न सफल भए । प्रथम, द्धितिय र तृतियले जनही १५ हजार, सात हजार, तीन हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    प्रतियोगितामा पुम्दीभुम्दीका ८२ वर्षिय लिलबहादुर गुरुङलाई सिनियरतर्फ र ११ वर्षका गण्डकी बोर्डिङ स्कुलका आरोन नेपाललाई जुनियरतर्फ पुरस्कृत गरिएको थियो ।

    खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपालसहित ८ देशको प्रतिनिधित्व थियो । विभिन्न ६ इभेन्टमा कुल १६७ जना धावकले अनलाइन फर्म दर्ता गराएका थिए ।

    प्रतियोगितामा नेपालका सात प्रदेश र विदेशका बेलायत, नर्वे, इजरायल, फ्रान्स, अमेरिका, स्पेन र क्यानडासहित सात देशका १ सय १७ धावक सहभागी भएको केन्द्रका उपाध्यक्ष असफल गौतमले जानकारी दिए ।

    विश्व पर्यटन दिवसको अवसरमा दौड पूरा गरेका विदेशी धावकलाई पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले माला लगाई स्वागत गरे । पोखरा–२२ स्थित विश्वशान्ति स्तुपदेखि पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी कालाबाङ घरेडी बुद्धपार्कसम्म भएको दौडमा धावकलाई स्थानीयले ठाउँ ठाउँमा स्वागत गरेका थिए ।

    नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ निर्देशक एवं प्रमुख मणिराज लामिछनेले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

    प्रतियोगिता संयोजक दीननाथ बरालले पोखराको पर्यटन तथा खेलकुदको विकासमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने भन्दै यो प्रतियोगितालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने बताए ।

    यसैबीच समापन समारोहमा विश्व कीर्तिमानी धावक तनहुँका वसन्त घिमिरे र विश्वशान्ति स्तूप समिति अध्यक्ष अशोक गुरुङलाई पोखरा पर्वद्धन विशिष्ट सम्मान गरियो ।

    समापन कार्यक्रममा पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य रवीन्सन प्रजू, इन्द्रा मल्ल, खेम पुन, कालाबाङ घरेडी बुद्ध पार्कसमितिका अध्यक्ष राज गुरुङ लाल, सम्मानित व्यक्तित्व विश्व शान्ति स्तूप समिति अध्यक्ष अशोक गुरुङ, समितिका सहसचिव दुर्गाबहादुर गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था, शुक्रराज माविका प्राचार्य नरनाथ बराल, पोखरा २२ वडा युवा परिषद्का अध्यक्ष दिनेश बराललगायतले पुरस्कार वितरण गरेका थिए ।

     

  • ११ आश्विन २०८२, शनिबार २१:२१ प्रकाशित