काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ। जेन—जी आन्दोलनपछि पहिलो पटक बस्न लागेको बैठक १ बजेलाई पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको छ ।
कांग्रेसमा मुख्य एजेन्डाका रूपमा रहेको नियमित कि विशेष महाधिवेशन भन्ने विषय नै आजको बैठकको मुख्य एजेन्डा रहनेछ भने बैठकमा सबै केन्द्रीय सदस्यहरूको राय लिएपछि मात्र कुन खाकाको महाधिवेशन गर्ने भन्ने तय गरिने बुझिएको छ।
मंसिरभित्रै महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा कांग्रेसको संस्थापन र इतर पक्षबीच सहमति अझै जुट्न सकेको छैन।
यसैबीच एजेन्डा तय गर्न चार दिनदेखि बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले महाधिवेशनसम्बन्धी तालिकामा सहमति नजुट्दा आज मंगलबार ११ बजेलाई बैठक बोलाइएको छ।
पहिला बैठक बसेर एजेन्डा तय गर्ने र १ बजे केन्द्रीय समितिको बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।






