आईतबार दुई मन्त्री नियुक्त, स्वास्थ्यमा शर्मा र खेलकुदमा गुप्ता

नवनियुक्त दुवै मन्त्रीले लिए शपथ

  • जरूवाखबर

  • काठमाडौं । नवनियुक्त मन्त्रीद्धय सुधा शर्मा र बब्लु गुप्ताले आईतबार शपथ लिएका छन्।

    राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त सुधा शर्मा र युवा तथा खेलकुद मन्त्रीमा नियुक्त बब्लु गुप्तालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

    यसअघि प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या र गुप्तालाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए।

    यसैबीच मन्त्री गुप्ताले पदभार ग्रहण गर्दै आगामी दिनमा युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा हस्ताक्षरसमेत गरे । उनले खेलकुद क्षेत्रको विकासका लागि बोलेरभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।

    यसैगरी मन्त्री शर्माले जेनजी आन्दोलनका घाइते तथा प्रभावितको लागि निःशुल्क मनोसामाजिक परामर्शको व्यवस्था गर्ने निर्णय गरेकी छन्।
    शपथ पछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै उनले उक्त निर्णय गरेकी हुन्।

    मन्त्री शर्माले विज्ञहरूको सुझावको आधारमा मनोसामाजिक परामर्श कसरी दिने भन्नेबारे छलफल गरेर कार्य अगाडि बढाउने बताइन्।

    यस्तै मन्त्रीमा सिफारिस भएकामध्ये खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको विवाद भएपछि शपथ रोकिएको छ। सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिनेगरी राष्ट्रपतिसमक्ष सिफारिस भएको थियो।

     

  • १० कार्तिक २०८२, आईतवार १९:५८ प्रकाशित