काठमाडौं । विभिन्न मागसहित प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन पुगेका मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएको छ ।
अनुमतिबिना सिंहदरबार प्रवेश गर्न लागेका मिराजसहितका युवाहरूलाई प्रहरीले सिंहदरबारको दक्षिण गेटमा रोकेको हो ।
आफूहरू जसरी पनि सिंहदरबार छिर्न पाउनुपर्ने भन्दै युवाहरूले प्रदर्शन गर्न खोजेपछि प्रहरीले लखेटेर हनुमानस्थान पुल कटाएको थियो । त्यसपछि उनीहरू हनुमानस्थान नजिक धर्नामा बसेका थिए । सो क्रममा जेनजी अभियान्ता मिराज ढुंगानाले प्रधानमन्त्रीसँग भेट्न पटकपटक समय माग्दा पनि नपाएपछि आफूहरू भित्र जान खोजेको बताए । आफुहरुकै आन्दोलनको बलमा बनेको सरकारले आफुहरुलाई नै सिंहदरबार रोक लगाएकोप्रति ढुंगानाले आपत्ती समेत जनाएका थिए ।
जेनजी युवाहरूको मागलाई वेवास्ता गर्दै सरकार निर्वाचनमा मात्रै केन्द्रीय भएको विषयमा आफूले प्रधानमन्त्रीलाई अवगत गराउन खोजेको उनको भनाइ छ । उनले युवाहरूलाई स्वदेशमा नै गरिखान दिने वातावरण बनाउनुपर्ने र यसका लागि स्थीर सरकारको आवश्यकता औल्याए ।






