जनता आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटन
  • जरूवाखबर

  • पोखरा । स्याङजा पुतलीबजार नगरपालिका वडा नं १२ सिम्लेमा अवस्थित जनता आधारभूत विद्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रम हालै सम्पन्न भएको छ ।

    पहर ट्रस्ट नेपालको आर्थिक सहयोग तथा बेलायत, सिंगापुर र हङकङमा रहेका सिम्लेबासी एवम् अन्य सहयोगीमनहरुको सहयोगमा निर्मित उक्त भवनको पहर ट्रस्ट नेपाल र पहर ट्रस्ट फाउण्डेशनका प्रतिनिधिले संयुक्त रुपमा उदघाटन गरेका थिए ।

    २६ लाख रुपैयाँ लागतमा विद्यालय भवन निर्माण सम्पन्न भएको विद्यालय परिवारले जनाएको छ ।

    वडा नं १२ का अध्यक्ष गञ्जसिंह गुरुङले गाउँको शिक्षा विकासकालागि सबैको सहयोगको आवश्यकता रहेको बताउँदै विद्यालयका लागि वडाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    समाजसेवी एवम् विद्यालय भवन निर्माण अभियन्ता हुमबहादुर गुरुङले आफु जन्मे हुर्केको गाउँका बालबालिकालागि विद्यालय भवन निर्माणमा सहयोग गर्न पाएकोप्रति खुशी व्यक्त गर्दै वैदेशिक रोजगारीका शिलशिलामा विदेशमा रहेर पनि आफ्नो थाकथलोको शैक्षिक विकासकालागि सहयोग गर्नु हुने सबैप्रति आभार व्यक्त गरे । साथै उनले आउँदा दिनहरुमा पनि उक्त विद्यालयका लागि सबै एकभएर लागिरहने बताए । सोही कार्यक्रममा समाजसेवी गुरुङले विद्यार्थीका लागि पोशाक प्रदान गरेका थिए ।

    विधालयका प्रधनाध्यापक तीलबहादुर विक र विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमबहादुर गुरुङले विद्यालय भवन निर्माण तथा विद्यार्थीहरुको शैक्षिक सामाग्रीका साथै पोशाक प्रदान गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै आउँदा दिनहरुमा पनि विद्यालय शिक्षाका लागि सबैको सहयोग पाईरहने विश्वास व्यक्त गरे ।

    वि.सं.२०७२ सालमा आएको भूकम्पले विधालय भवन क्षतिग्रस्थ भएपछि पहर ट्रस्ट नेपाल र बेलायत, सिंगापुर र हङकङमा रहेका सिम्लेबासी लगायत अन्य सहयोगीहरुको आर्थिक सहयोगमा विद्यालय भवन पून निर्माण सम्पन्न भएको विद्यालय शिक्षिका अमृता गुरुङले बताईन् ।

    तीन कक्षासम्म पढाई हुने विद्यालयमा १२ जना विद्यार्थी अध्ययनरत छन् भने ३ जना शिक्षक छन् । विद्यालयको स्थापना २०४५ सालमा भएको हो ।

    तस्विरहरु:

  • १५ मंसिर २०८२, आईतवार २१:०९ प्रकाशित