कास्की काँग्रेसमा प्रतिनिधि सभा सदस्यका लागि ६७ आकांक्षी

क्षेत्रीय समितिहरूबाट सहमतिमै नाम सिफारिस गर्ने कसरत, सहमति नभए आन्तरिक प्रतिस्पर्धा हुने

  • जरूवाखबर

  • पोखरा । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काँग्रेस कास्कीमा ६७ जना आकांक्षीहरुले नाम दर्ता गराएका छन् ।

    तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीमा प्रत्यक्ष र समानुतापतिककालागि निर्वाचन क्षेत्र नं १ बाट २० जना, क्षेत्र नं २ बाट १८ जना र क्षेत्र नं ३ बाट २९ जना गरी ६७ जना आकांक्षीहरुले नाम दर्ता गराएका हुन् ।

    पार्टीको केन्द्रीय परिपत्र अनुसार प्रत्येक क्षेत्रबाट प्रत्यक्ष निर्वाचनमा महिला सहित ३ जनाको नाम पठाउनुपर्छ । तर आकांक्षीहरुको संख्या धेरै भएपछि क्षेत्रीय समितिले आकांक्षीहरुसंग संवाद र छलफललाई तिब्र पारेको छ ।
    आकांक्षीहरुसंग संवाद र छलफलबाट सहमतिमै ३ जनाको नाम टुंग्याउने कसरत क्षेत्रीय समितिहरूले गरीरहेका छन् । आकांक्षीहरुबीच निरन्तर संवाद भइरहेको छ ।

    क्षेत्र नं १ कास्कीका सचिव सरोज केसीले नाम टुंगो लगाउन सहमतिको प्रयास भईरहेको तर सहमतिमा नाम नटुङ्गिए आन्तरिक प्रतिस्पर्धाबाट नाम छनोट हुने बताउँछन् । केन्द्रीय परिपत्र भन्दा बाहिर गएर उम्मेदवारको नाम सिफारिस नगर्ने र सहमतिको प्रयास जारी रहेको सचिव केसी बताउँछन् । ‘आकांक्षीहरुबीच सहमति भएन भने आन्तरिक प्रतिस्पर्धा हुन्छ’ उनले जरुवा खबरलाई भने ।
    क्षेत्र नं ३ ले पनि आकांक्षीहरुबीच संवाद र छलफललाई तिब्र पारेको छ । प्रत्यक्ष र समानुपातिकमा गरी जम्मा २९ जना आकांक्षीले नाम दर्ता गराएको उक्त क्षेत्रमा सहमतिमै नाम टुंगो लगाउने सचिव मेख तामाङले जरुवा खबरलाई बताए । ‘छलफल र संवादबाटै निश्कर्ष निकाल्छौं’ सचिव तामाङ भने ‘आज पनि आकांक्षीहरुसंग छलफल गर्दैछौं ।’

    कास्की क्षेत्र नं १ मा प्रत्यक्ष तर्फ कृष्णबहादुर केसी, तिलकबहादुर रानाभाट, जीवन परियार, गुरु बराल, सुदिप मोहन भट्टराई, भानु ढकाल, प्रेमप्रसाद सुवेदी, पुष्पमणि भण्डारी, अप्सरा श्रेष्ठ, बुद्धिमान गुरुङ, गिरीराज गौतम र सरीता कार्की ‘लोभिषा’ले नाम दर्ता गरेका छन् ।

    क्षेत्र नं १ को समानुपातिक तर्फ संज्ञा पोखरेल, कोपिला रानाभाट, दुर्गा लामिछाने, निशा मल्ल ठकुरी, इन्द्रमाया बानियाँ, लालकृष्ण शर्मा भट्टराई, लोककुमारी गुरुङ र खलिल मियाले आकांक्षीमा नाम टिपाएकाछन् ।

    यसैगरी क्षेत्र नम्बर २ मा प्रत्यक्षका लागि ऋषिराम काफ्ले, वीरेन्द्रनारायण बिजुक्छे, माधवप्रसाद बास्तोला ‘मधु’, माइकल कर्माचार्य, सिरोज विजय कोइराला, ई.शिरषकुमार बास्तोला, लक्ष्मी पाण्डे, राजेन्द्र बराल, लक्ष्मी कार्की, गुरुप्रसाद बराल, किरण केसी, निर्दोष विक्रम पौडेल र देवराज गुरुङ छन् ।

    समानुपातिकमा रङ्गीला आचार्य, उमा ठकुरी, शान्ति कुमारी गुरुङ, शोभाचन्द्र बराल र शकुन्तला कोइराला छन् । पार्टीका केन्द्रीय सदस्य गुरुप्रसाद बरालले क्षेत्र नम्बर १ र २ दुवै क्षेत्रबाट उम्मेदवार बन्न नाम टिपाएका छन् ।

    यसैगरी कास्की क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फका आकांक्षीहरुमा मनोज गुरुङ, देवेन्द्र केसी, विजय गुरुङ, मोहदत्त पोखरेल, धर्मराज अधिकारी, सिता गुरुङ, डा.कृष्ण प्रसाद पौडेल, खिमलाल बाँस्तोला, रामचन्द्र त्रिपाठी, दुर्गा तिमिल्सिना, ठाकुर बराल, जीवनप्रसाद बास्तोला, भेषराज पराजुली, रामप्रसाद अधिकारी, यामकृष्ण पौडेल र लक्ष्मी प्रसाद पौडेल छन् ।

    समानुपातिकतर्फ कृष्ण कुमारी परियार, कमला बिन्दु बराल, विजया लक्ष्मी कोइराला, सिता शर्मा, पार्वतीदेवी कोइराला, आइबहादुर गुरुङ, प्रभा सुबेदी, पशुपति भट्टराई, शारदा पौडेल, देवन्द्र कुमार शेरचन, जित बहादुर गुरुङ, मन बहादुर विश्वकर्मा र भीम बहादुर गुरुङले आकांक्षीमा नाम टिपाएका छन् ।

    क्षेत्र नम्बर १ मा १२ जना प्रत्यक्ष र ८ समानुपातिक गरी २० जना, क्षेत्र नं. २ मा १३ जना प्रत्यक्ष र ५ जना समानुपातिक गरी १८ जना र क्षेत्र नं ३ मा १६ जना प्रत्यक्ष र १३ जना समानुपातिक गरी २९ जनाको नाम दर्ता भएको छ ।

    आकाङ्क्षीहरूबाट क्षेत्र नम्बर १ र २ ले प्रतिव्यक्ति १० हजार रुपैयाँ शुल्क लिएको छ भने क्षेत्र नं ३ ले ५ हजारका दरले शुल्क उठाएको छ ।

     

  • २५ मंसिर २०८२, बुधबार १०:३७ प्रकाशित