काठमाडौँ । लामो रस्साकस्सी र छलफलपछि अन्तत नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले सिरियल नम्बर नभएका चार लाख क्रियाशील सदस्यताका फारम रद्द निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मङ्गलबार बसेको समितिको बैठकले सिरियल नम्बर नभएका फारम रद्द गर्ने निर्णय गरेको हो । समितिले अब सिरियल नम्बर सहितका फारम छापेर जिल्ला/जिल्लामा पठाउने निर्णय पनि गरेको छ ।
महामन्त्री गगन थापा र सदस्य स्नेही रसाईलीले त्यही फारम भर्न लगाउने पक्षमा रहेको तर समितिमा रहेका संस्थापन पक्षीय दुई सदस्यहरू योगेन्द्र चौधरी र सीता गुरुङ ती फारम फिर्ता ल्याएर नयाँ सिरियल नम्बर सहितका फारम पठाउनुपर्ने पक्षमा थिए ।
लामो रस्साकस्सी र छलफलपछि महामन्त्री थापा र सदस्य स्नेही आफूहरूको अडानबाट पछि हटेका हुन् । थापाले मंगलबारको बैठकमा पनि त्यही फारमलाई मान्यता दिनुपर्ने बताएका थिए । तर त्यो अवस्था बन्ने नदेखिएपछि नयाँ फारम पठाउन थापा राजी भएको बताईन्छ ।






