काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । यो विजयीसंगै अध्यक्षमा ओलीले ह्याट्रिक गरेका छन्।
प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई पराजित गर्दै ओली अध्यक्षमा विजयी भएका हुन्। ओलीले १६६३ मत ल्याउँदा पोखरेलले ५६४ मत प्राप्त गरे।
त्यस्तै महासचिवमा शंकर पोखरेल विजयी भएका छन्। उपाध्यक्षमा एमालेको पाँच उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त विजयी भएका छन्।
उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् ।
सचिवमा महेश बस्नेत, पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल विजयी भएका छन्।
तेश्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएपछि ओलीले महाधिवेशनमा चुनाव हुँदैमा एमाले विभाजन नहुने बताउँदै महाधिवेशनमा लोकतन्त्रको अभ्यास गरेको एमाले अब झन् बलियो भएर अगाडि बढ्ने बताए । एमालेमा लोकतान्त्रिक अभ्यास रहेको र एमालेको जस्तो लोकतन्त्रको अभ्यास अन्य दलहरूले गर्नै नसक्ने उनले दाबी गरे।
यसैबीच नेकपा एमालेको ११ औं महाधिवेशनबाट कास्की जिल्लाका ११ जना नेताहरुले केन्द्रमा प्रतिनिधित्व गरेका छन्।
निर्वाचित हुनेमा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी पार्टीको केन्द्रीय सचिबमा निर्वाचित भएका छन् भने पार्टीको केन्द्रीय अनुसन्धान विभागको अध्यक्षमा प्रा. डा. भरत पहारी निर्बिरोध निर्वाचित भएका छन् ।
कास्की जिल्ला पार्टी इन्चार्ज रहेका कृष्णबहादुर थापा पूर्व खेलकुद मन्त्री जगत बिश्वकर्मा, युवा संघ नेपालका अध्यक्ष समेत रहेका राजिब पहारी, पोखरा महानगरपालिकाका उपमेयर मन्जुदेबी गुरुङ, गण्डकी प्रदेश सभा सदस्यद्वय प्रभा कोइराला तथा देबका पहारी युवा नेता रश्मि आचार्य केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
कास्कीकै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, एमाले नेत्री क्रान्ति बुर्लाकोटी पनि केन्द्रीय सदस्य बनेका छन् भने लेखा आयोग सदस्य केश बहादुर केसी निर्वाचित भएका छन्।






