पोखरा। नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय रहेका कास्की क्षेत्र नं.१ का महाधिवेशन प्रतिनिधि होम बहादुर बस्याल ‘बिमल’ले पार्टीको क्रियाशील राजनीतिबाट विश्राम लिएको घोषणा गरेका छन्।
बस्यालले शुक्रबार एक विज्ञप्ती जारी गर्दै महाधिवेशन प्रतिनिधिको जिम्मेवारीसहित पार्टीको कुनै पनि पदमा नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।
उनले लेखेका छन् ‘समाज रुपान्तरणका लागी पहिला आफु रुपान्तरित हुन जरुरी छ भन्ने बिश्वास राख्दै वर्तमान नेपाली कांग्रेसको कृयाशिल राजनितीबाट बिश्राम लिने निर्णय गरेको छु । साथै यसै पत्र मार्फत नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधी साथै कुनै पनि पदमा समेत नरहने गरि राजिनामा दिएको जानकारी गराउन चाहन्छु ।’
नेपाली कांग्रेसको विद्यार्थी तथा युवा संगठनबाट राजनीतिमा प्रवेश गरेका, काँग्रेसका पुराना तथा सक्रिय कार्यकर्ता रहेका बस्यालले भनेका छन्, ‘विगत लामो समयदेखि नेपाल विद्यार्थी संघ र तरुण दल हुँदै नेपाली कांग्रेसको क्रियाशील सदस्यको रूपमा यात्रा गरें । १४औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि बन्ने अवसर प्राप्त गरें । नेपाली कांग्रेसलाई बलियो र संगठित बनाउन हरसम्भव प्रयत्न गरें । महान् नेता बीपी कोइरालाको जीवनी पढेर हुर्किएको म, बीपी, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूको कांग्रेसको सिपाही बन्ने प्रयासमा सदैव लागिपरेको थिंए । त्यसमा कति सफल भएँ, त्यो नेतृत्व र आमजनताले मूल्यांकन गरिसकेका होलान् ।’
उनले देश कुशासन, भ्रष्टाचार, बेथिति र राजनीतिक लुछाचुडीको दलदलमा फसेको दावी गर्दै मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् । उनले आफूले पसिना र रगतले सिंचेको नेपाली कांग्रेस यस्ता जालझेल र समस्याबाट छिट्टै मुक्त होस् भन्ने कामना पनि गरेका छन् । उनले लेखेका छन् ‘मैले आस्था राखेर मेरो पसिना र रगत दिएर सिंचिएको पार्टी नेपाली कांग्रेस यस्ता जालझेल र समस्याबाट छिट्टै मुक्त होस् । लोकतान्त्रिक पार्टी कमजोर हुँदा देशमा लोकतन्त्र पनि कमजोर बन्छ त्यसैले देशको लोकतन्त्र बलियो बनाउन कांग्रेस पनि बलियो बनेर उभियोस ।’
आफु प्रजातन्त्र र लोकतन्त्रमा बिश्वास गर्ने एक नागरिक भएको बताउँदै देश दलदलमा फसेको बेला टुलुटुलु हेरेर बस्दा भावी पुस्ताले आफुलाई धिकार्ने उल्लेख गरेका छन् । काँग्रेस निर्माणको सुरुवातमा शहिद बनेका र बलियो कांग्रेस सबल नेपालको संरचनाको सोच बनाएका श्रदय नेताहरुको योगदान र आजको कांग्रेसको पथ फरक भएको पनि उनले जिकिर गरेका छन् ।






