कांग्रेसको पार्टी अनुशासनको कारबाहीमा परेकालाई माफी

समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० उम्मेदवार चयन गर्ने मापदण्ड तयार गरी नाम छनोट प्रक्रिया सुरु

  • जरूवाखबर

  • पोखरा । नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेका आफ्ना नेताकार्यकर्तामाथि केन्द्रीय अनुशासन समितिले गरेको कारवाहीलाई माफी दिने निर्णय गरेको छ ।

    पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले पार्टी निष्काशन, निलम्बन तथा विधान अनुसारको स्वत: कारवाहीमा परेका नेता कार्यकर्ताहरुको कारवाहीको बाँकी अवधि माफी गर्ने निर्णय गरेको हो ।

    विगतको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका, प्रस्तावक समर्थक बनेका वा असहयोग गरी अनुशासन उल्लंघन गरेका नेताकार्यकर्तामाथि केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्बन तथा विधानअनुसारको स्वतः कारबाहीको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय गरेको छ भने कारवाही माफी वा मिनाहा भएका व्यक्तिहरुको क्रियाशिल सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशिल सदस्यता नवीकरण गर्ने निर्णय पनि गरेको छ ।

    मुलुकको वर्तमान राजनीतिक अवस्था, आसन्न प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउनका लागि उक्त निर्णय गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    यसैगरी पार्टी परित्याग गरी स्वतन्त्र बनेका वा अन्य पार्टीमा सक्रिय रहेका नेताकार्यकर्तालाई पार्टीमा फर्कन पनि बैठकले आह्वान गरेको छ। पार्टीमा फर्किनेहरुलाई क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी दिने निर्णय पनि गरिएको छ।

    यसैबीच केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० उम्मेदवार चयन गर्ने मापदण्ड तयार गरी नाम छनोट प्रक्रिया सुरु गरेको छ।

    बैठकले नेपाली कांग्रेसले वौद्धिक तथा व्यवसायिक क्षेत्रमा सक्रिय लोकतान्त्रिक विचारधारा भएका व्यक्तिहरुलाई पार्टीमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्दै विशेष संवाद र सहकार्यका माध्यमबाट अघि बढ्ने निर्णयसमेत गरेको छ।

    केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक आइतबार फेरि बस्ने भएको छ।

  • १२ पुष २०८२, शनिबार १९:३३ प्रकाशित