पोखरा । पोखरा बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा शंकर गुरुङ चयन भएका छन् ।
क्याम्पसको शनिबार सम्पन्न ३९औँ साधारणसभा तथा आठौँ अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो ।
समितिको सदस्यहरुमा समीर गुरुङ, हस्तबहादुर थापा, कुमारी मुना बाँस्तोला, उमाकुमारी ठकुरी, नवीन नापित, भिम गौतम र देव कुमारी हिराचन चयन भएका छन्
अधिवेशन पछि कार्यभार हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष नरेन्द्रमान लालचनले क्याम्पस जस्तो शैक्षिक संस्थामा नितान्त सेवाभावले नेतृत्व गर्नुपर्ने उल्लेख गर्दै आफ्नो कार्यकालमा प्राप्त उपलब्धिबारे चर्चा गरेका थिए ।उनले क्याम्पसको उत्थान र प्रगतिका लागि जीवनपर्यन्त समर्पित रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै क्याम्पसका सल्लाहकार शंकर देवकोटाले शैक्षिक संस्थालाई व्यक्तिगत पूर्वाग्रहबाट मुक्त राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।
निवर्तमान उपाध्यक्ष बद्री श्रेष्ठ, क्याम्पसका आजीवन सदस्यहरू योगेन्द्र प्रधान, विश्व मोहन गौचन, देवकुमारी हिराचन, रवीन्द्र माकाजु तथा वडा नं. ९ का वडा सदस्य गीता चर्माकार र क्याम्पस प्रमुख शिशुकला पराजुली लगायतले आआफ्नो भनाई राखेका थिए ।

निर्वाचन सम्पन्न गर्न अधिवक्ता प्रकाशचन्द्र त्रिपाठीको संयोजकत्वमा लक्ष्मी अधिकारी र कृष्णप्रसाद कोइराला सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो।
पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पस विसं २०४४ मा स्थापना भएको हो । पोखराको पुरानो टुँडिखेलस्थित राष्ट्रिय उच्च माविको भवनमा संचालन शुरु गरिएको पोखरा बहुमुखी क्याम्पसले ३८ वर्ष पूरा गरेको छ ।
२०७९ सालमा कलेजको आफ्नै भवन पोखरा – ९ शान्तिवन नजिक निर्माण गरिएपछि भने पोखरा बहुमुखी क्याम्पसले आफ्नै भवनबाट पढाई संचालन गरिरहेको छ ।






