पोखरा । फेवातालको शिरमा रहेको सुन्दर गाउँ ‘कुदवी डाँडा गाउँ’ चिनारी गीत सार्वजनिक गरिएको छ ।
तमु ल्होसार २०८२ को अवसर पारी आयोजना गरिएको एक कार्यक्रममा समाजसेवी एवम् राजनीतिक व्यक्तित्व पूर्व पर्यटन राज्यमन्त्री महादेव गुरुङले गीत सार्वजनिक गरेका हुन् ।
विमल गुरुङको शब्द र संगीत रहेको सो गाउँ चिनारी गीतमा उषा गुरुङ र विमल गुरुङले स्वर दिएका छन् ।
कुदवी डाँडाँ गाउँ चिनारी गीतमा कुदवी डाँडा गाउँको सुन्दरता, धार्मिक र ऐतिहासिक महत्वको वर्णन गरिएको छ । गीतको शब्दमा उल्लेख गरिएको सुन्दर गाउँ, सुन्दर हिमाल माछापुच्छे, धुक्हों पाखा, हर्पण कोट, सिलकको सिल्दो न्हल्दो, कोदोँ खोला, सिलीबाङ बेशी, हरियाली पञ्चासे, हुई खोला तथा सुन्दर हिमाली श्रृंखलाहरुका साथै सुन्दर दृश्यले गीतको भिडियो थप आकर्षण बनाएको छ ।
पोखरा महानगरपालिका वडा नं २३ कुदवी डाँडा गाउँ समाजको प्रस्तुति रहेको उक्त चिनारी गीतको संगीत एरेन्ज सुनिल थापाले गरेका छन् भने म्यूजिक भिडियोको निर्देशन माधव गुरुङले गरेका छन् ।
गीतको भिडियो उत्पादनका लागि कुदवीडाँडा गाउँ समाजका साथै कुदवी डाँडा निवासी विभिन्न व्यक्तित्वहरुले सहयोग गरेका छन् ।






