समानुपातिकतर्फ ६४ दल मात्रै, ३६ दलले बन्दसूची नै पेस गरेनन्

११० सिटका लागि कुल ३ हजार ४ सय २४ उम्मेदवार

  • जरूवाखबर

  • काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० सिटका लागि कुल ३ हजार ४ सय २४ जना उम्मेदवार बनेका छन्।

    फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आइतबार र सोमबार गरी दुई दिन बन्दसूची पेस गर्ने समय दिएको थियो।

    उक्त समयभित्र ६४ दलले मात्र बन्दसूची पेश गरेका छन् । निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचनमा भाग लिन स्वीकृति पाएका १०० राजनीतिक दलमध्ये ६४ दलले मात्र समानुपातिकका उम्मेदवारको बन्दसूची पेस गरेका छन् भने ३६ दलले उम्मेदवारको बन्दसूची नै पेस गरेनन्।

    आयोगका सहसचिव एवं प्रवक्ता नारायण भट्टराईका अनुसार धेरैजसो दलहरूले सोमबार राति र मंगलबार बिहानसम्म निर्वाचन अधिकृतको कार्यालयमा बन्दसूची बुझाएका थिए।

    उम्मेदवार छनोटमा दलभित्र देखिएको आन्तरिक किचलो, पार्टी एकता तथा गठबन्धनसम्बन्धी अन्योलका कारण ठूला दलहरूले समेत बन्दसूची बुझाउन ढिलाइ गरेका थिए।

    निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता भट्टराईका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ ५८ वटा निर्वाचन चिह्न प्रयोग गरेर ६४ वटा दलले बन्दसूची बुझाएका छ्न। तीमध्ये ५४ दलले आआफ्नै छुट्टाछुट्टै निर्वाचन चिह्न प्रयोग गरेका छन् भने १० दलले ४ वटा निर्वाचन चिह्न साझा रूपमा प्रयोग गरी बन्दसूची दर्ता गराएका छन्।

    आयोगले बन्दसूचीमाथि छानबिनपछि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने जनाएको छ। स्वीकृत निर्वाचन कार्यक्रमअनुसार माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म अन्तिम बन्दसूची प्रकाशन गरिनेछ।

    आयोगले दलहरूलाई बन्दसूची सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नसमेत निर्देशन दिएको छ।

  • १६ पुष २०८२, बुधबार १०:०८ प्रकाशित