काठमाडौं । नेपाली कांग्रेसले पुस २७ र २८ गते आह्वान गरेको विशेष महाधिवेशन विधान विपरीत रहेको बताउँदै त्यस्ता गतिविधिमा संलग्न नहुन नेता कार्यकर्तालाई निर्देशन दिएको छ।
बुधबार एक विज्ञप्ती जारी गर्दै काँग्रेसले विशेष महाधिवेशनमा संलग्न नहुन नेता कार्यकर्तालाई निर्देशन दिएको हो ।
विशेष महाधिवेशनको औचित्य मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको जारी विज्ञप्तीमा उल्लेख छ । विशेष महाधिवेशन बोलाउन अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट पनि पारेको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको छ। तसर्थ, पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरू, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेश स्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरूलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ ।’
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सर्वसम्मत् निर्णयबाट कार्यतालिका तयार गरी अधिवेशन र महाधिवेशनको प्रकृया र कार्यक्रमहरू सञ्चालन भैरहेको अवस्थामा, सोही अवधिभित्र माग गरिएको विशेष महाधिवेशनको औचित्य समाप्त भएको यथार्थलाई वेवास्ता गरी विभिन्न संचार माध्यम मार्फत् पार्टीको विशेष महाधिवेशन आह्वान गरिएको भन्ने विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।







