काठमाडौँ । राप्रपाका असन्तुष्ट पक्षका नेताहरुले पार्टीको समानुपातिक उम्मेदवारको सूची सच्याउन माग गरेका छन् । उनीहरुले अवसरवाद र परिवारवाद रहेको भन्दै सूची सच्याउन माग गरेका हुन् ।
हालै राप्रपाले सार्वजनिक गरेको समानुपातिक उम्मेदवार सूचीले संवैधानिक मर्म र पार्टीको मूल आदर्शमाथि गम्भीर प्रश्न उठाएको उनीहरुको भनाइ छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै उनीहरुले समानुपातिक प्रतिनिधित्व व्यवस्था नेपालको संविधानले अल्पसंख्यक, पिछडिएका, उत्पीडित तथा विपन्न वर्ग(समुदायको राजनीतिक सहभागिता सुनिश्चित गर्नका लागि व्यवस्था गरेको प्रणाली भएको बताएका छन् ।
उनीहरुले यसले पार्टीमा लामो समयदेखि योगदान दिँदै आएका नेता कार्यकर्ता तथा विपन्न र संघर्षशील महिलामाथि गरिएको गम्भीर अन्याय भएको समेत उल्लेख गरेका छन् । पार्टीभित्र आन्तरिक लोकतन्त्र, त्याग र योगदानको सम्मान हुने स्पष्ट मापदण्ड लागू गर्नुपर्ने भन्दै उनीहरुले राप्रपा अवसरवाद र परिवारवादबाट मुक्त भई सिद्धान्तनिष्ठ, जनमुखी र भरोसायोग्य राजनीतिक शक्ति बन्नु आजको आवश्यकता रहेको समेत बताएका छन् ।






