आइतबारदेखि राष्ट्रिय सभाको अधिवेशन सुरु हुँदै
  • जरूवाखबर

  • काठमाडौँ । राष्ट्रिय सभाको १९औँ अधिवेशन यही माघ ४ गते आइतबारदेखि सुरु हुँदैछ ।

    संसद भवन जेन जी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा अधिवेशन सञ्चालन हुनेछ ।

    अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका थिए ।

    अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन हुनुभएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोकप्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा ‘१’ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आइतबारका दिन ११  बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका थिए ।

    गत भदौ ३१ गते राष्ट्रिय सभाको १८औँ अधिवेशन अन्त्य भएको थियो ।

    यसैबीच, निर्वाचन आयोगले यही माघ ११ गते राष्ट्रिय सभाको १९ सदस्यका लागि निर्वाचनको तयारी पनि गरेको छ ।

    राष्ट्रिय सभा सदस्यमा एकजना निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ । रासस

  • ४ माघ २०८२, शनिबार २२:५५ प्रकाशित