जनसिद्ध आधारभूत विद्यालयको स्वर्ण जयन्ती विविध कार्यक्रमका साथ मनाईयो
  • जरूवाखबर

  • पोखरा। पोखरा महानगरपालिका वडा नं. २३, हर्पनमा अवस्थित जनसिद्ध आधारभूत विद्यालयले आफ्नो स्वर्ण जयन्ती मनाएको छ। २०३२ सालमा स्याउलाले बारेर स्थापना भएको उक्त विद्यालयले विविध कार्यक्रमका साथ आफ्नो स्वर्ण जयन्ती मनाएको हो ।

    पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले एक कार्यक्रमका बीच विद्यालयको ५०औं वार्षिकोत्सव तथा स्वर्ण जयन्ती कार्यक्रमको उद्घाटन गरेकी थिईन् ।

    स्वर्ण जयन्तीको उद्घाटन गर्दै उपप्रमुख गुरुङले समुन्नत समाज निर्माणको पहिलो आधार शिक्षा भएको बताउँदै पोखरा महानगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेको उल्लेख गरिन् । उनले भनिन्“विद्यार्थी काँचो माटो जस्तै हुन्। भौतिक विकासभन्दा असल मानवीय विकास आजको आवश्यकता हो। व्यावहारिक शिक्षाले शैक्षिक गुणस्तर वृद्धि गर्न र विद्यार्थीलाई सही मार्गदर्शन दिन मद्दत गर्छ।”

    उद्घाटन समारोहका अवसरमा विद्यालयका पूर्व प्रधानाध्यापक स्व. चूडामणि पराजुली, टंकप्रसाद पराजुली र शिरपति अधिकारीलाई सम्मान गरिएको थियो। यस्तै, स्वर्ण जयन्ती अवसरमा आर्थिक सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २३ का वडाध्यक्ष रामकाजी गुरुङ, शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशका प्रमुख नेपालहरि रानाभाट, पोखरा महानगरपालिकाका शिक्षा अधिकृत रामप्रसाद तिवारी, अन्नपूर्ण गाउँपालिका वडा नं २ का वडा सदस्य भानुभक्त दाहाल, पूर्व प्रधानाध्यापक टंकप्रसाद पराजुली तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बाबुराम पौडेल, स्वर्ण जयन्ती मूल समारोह समितिका सह–संयोजक लक्ष्मीप्रसाद पौडेल, मूल समारोह समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लोककुमारी क्षेत्रीलगायतले विद्यालयको इतिहास, विकास र शिक्षाका आयामबारे आआफ्नो भनाई राखेका थिए ।

     

    स्वर्ण जयन्ती मूल समारोह समितिका सचिव भानु पराजुलीले संचालन गरेको कार्यक्रममा जीवन दाहाल, रामजी पौडेल, माया गुरुङ, मनोहरी दाहाललगायत कलाकारहरूको प्रस्तुति सहित विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो।

    विद्यालय स्थापनादेखि हालसम्म करिब १० हजार विद्यार्थी दीक्षित भइसकेका छन् भने ८४ जना शिक्षक–शिक्षिकाले सो विद्यालयमा अध्यापन गराइसकेका छन्। संस्थापक अध्यक्ष मेघनाथ पौडेलको सक्रियता तथा स्थानीयको श्रमदानमा २०३२ सालमा स्थापना भएको उक्त विद्यालयमा ६० को दशकसम्म ढिकुरपोखरी गाविस र भदौरे–तामागी गाविसका विद्यार्थीहरू अध्ययन गर्ने गर्दथे।

  • १२ माघ २०८२, आईतवार २१:४७ प्रकाशित