कवि ‘विनोदी’ र ‘पाखे’ नेपाली लेखक संघ कास्कीद्धारा सम्मानित
  • जरूवाखबर

  • पोखरा । नेपाली लेखक संघ कास्कीले शनिबार एक कार्यक्रमका बीच लेखक कृति पुरस्कार २०८१ र स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

    गण्डकी प्रदेशमा जन्मले वा कर्मले क्रियाशिल लेखकको पुस्तकलाई पुरस्कृत गर्ने अभिप्रायले स्थापित लेखक कृति पुरस्कारबाट नवलपुरका स्रष्टा कवि गोविन्दराज विनोदी पुुरस्कृत भएका छन् । पुस्तक ‘अलङ्कार इन्द्रेणी’ लेखक कृति पुरस्कार २०८१ कालागि छनौटमा परेपछि कवि विनोदीलाई नगर पच्चीस हजारसहित पुरस्कृत गरिएको हो ।

    त्यसैगरी लामो समय नेपाली साहित्यमा योगदान दिए बापत कवि तारा पाखेलाई स्रष्टा सम्मान गरिएको छ।

    डा.लक्ष्मीशरण अधिकारीको संयोकत्वमा डा.गणेश शर्मा र डा.विष्णुप्रसाद शर्मा सदस्यका साथै संस्थाका अध्यक्ष र सचिव पदेन सदस्य रहेको समितिले कृति एवम् स्रष्टा छनौट गरेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली लेखक सङ्घ केन्द्रीय समितिका निवर्तमान अध्यक्ष, वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठले पुरस्कृत एवम् सम्मानित स्रष्टाद्वयलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर बधाई ज्ञापन गरेका थिए ।

    कार्यक्रममा पुरस्कार छनौट समितिका संयोजक डा. लक्ष्मीशरण अधिकारीले पुरस्कृत व्यक्तित्व गोविन्दराज विनोदी र उनका कृतिका बारेमा चर्चा गरेका थिए भने संघका उपाध्यक्ष कमल पौडेल अथकले सम्मानित व्यक्तित्व तारा पाखेका बारेमा प्रकाश पारेका थिए ।

    संघका अध्यक्ष रीता अधिकारी ‘ऋतु’ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्त, संघका केन्द्रीय उपाध्यक्ष ईश्वरमणि अधिकारी र गण्डकीका अध्यक्ष दीपक समीप, सचिव प्राञ्जलगायतले आ आफ्नो भनाई राखेका थिए ।


     

  • २६ माघ २०८२, आईतवार २१:२० प्रकाशित