पोखरा । नेपाली काँग्रेस स्याङजा पोखरा सम्पर्क समितिले शनिबार स्याङजा जिल्लाका प्रतिनिधिसभा सदस्यका उम्मेदवारसंग परिचायत्मक कार्यक्रमको आयोजना गर्यो ।
स्याङजा जिल्ला घर भई हाल पोखरामा स्थायी तथा अस्थायी रुपमा बसोबास गर्दै आईरहेका स्याङजालीहरु बीच समितिले नेपाली काँग्रेस स्याङजाका उम्मेदवारहरुसंग परिचायत्मक तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस स्याङजाका सभापति तथा संविधानसभा सदस्य राजु थापाले विशेष महाधिवेशनबाट पार्टी र नेतृत्वको परिवर्ततन गरीरहदाँ रुपान्तरणको ऐतिहासिक परिक्षा फागुन २१ गतेको निर्वाचनमा हुने स्पष्ट पारे । ‘आउने निर्वाचनमा बहुमत ल्याउन सके मात्र रुपान्तरणको अर्थ रहन्छ, संविधानमा सबैभन्दा ठुलो दलबन्न सके मात्र हामी रुपान्तरित भएको अनुभुति हुनेछ’ थापाले भने ।
पछिल्लो समयमा देखा परेका नयाँ दलहरुप्रति ईंकित गर्दै सभापति थापाले देश बदल्नका लागि आएको दावी गर्ने नयाँ राजनीतिक दलको मुख्य एजेण्डा के हो सोध्न मतदातालाई आग्रह गरे । विना एजेण्डा, विना भिजन देश बदल्छु भन्नेको विश्वास गर्न नहुने उनको जोड थियो । उनले भने ‘एजेण्डा र भिजन विना देश बदलिदैन न त त्याग, योगदान र बलिदान बोकेको पुरानो पार्टीलाई गाली गर्दैमा देश बदलिन्छ।’
नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठले पार्टी एकता र सुदृढिकरणका लागि काँग्रेसको विजय सुनिश्चित रहेको विश्वास व्यक्त गरे । ‘हाम्रो स्याङजामा एक अभूतपूर्व एकता कायम छ, यसैले हाम्रो विजय सुनिश्चित छ’ उपसभापति श्रेष्ठले भने ।
नेपाली काँग्रेस स्याङजाका पूर्व कार्यवाहक सभापति बुद्धिबहादुर थापा ‘कुमार’ले आगामी फागुन २१ गतेको निर्वाचन मुलुक खरानी पार्ने र मुलुुकमा विकास र लोकतन्त्र स्थापित गर्नेबीचको निर्वाचन भएकोले काँग्रेसको विजय सुनिश्चित रहेको विश्वास व्यक्त गरे ।
प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का उम्मेदवार भरतराज ढकालले स्याङजाको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी भएको विश्वास दिलाउँदै जनताका आधारभूत आवश्यकतापूर्तिका लागि युवाका मुद्धाहरुमा गम्भीर बन्ने प्रण गरे । ‘विदेशीएका युवाहरुलाई लक्षित गरी कृषि, उत्पादन, बैंक तथा वित्तिय क्षेत्रमा लगानी गर्नेछु, स्याङजालाई समृद्धिको बाटोमा अघि बढाउनेछु’ उम्मेदवार ढकालले भने ।
समितिका उपाध्यक्ष तिलकराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागिहरुले स्याङजाको समृद्धि र विकासका लागि दुईवटै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको उम्मेदवारले जित्नुको विकल्प नरहेको बताए ।
यसैबीच, नेपाली काँग्रेसका युवा नेता प्रेम पौडेलले स्याङजाका काँग्रेसीभित्र आफ्नो उम्मेदवारलाई जिताउने एउटै मात्र उद्देश्य र लक्ष्य रहेको जरुवाखबरलाई जानकारी दिए । पौडेलले सबै मिलेर परिणाम निकाल्ने विषयमा प्रतिवद्ध रहेको बताए । ‘स्याङजामा एकताको सवालमा चिन्ता गर्नु पर्ने अवस्था छैन, सबैजना एक भएर स्वस्फूर्त रुपमा चुनावी अभियानमा लागेका छन्’ नेता पौडेलले भने ।
कार्यक्रममा सहभागीहरुले स्याङजाको समग्र विकास र समृद्धिका लागि गुटभन्दा माथि रही नेपाली काँग्रेसलाई विजयी गराउनुको विकल्प नरहेको बताएका थिए ।
स्याङजामा नेपाली काँग्रेसबाट क्षेत्र नं १ मा भरतराज ढकाल र क्षेत्र नं २ मा भागवतप्रकाश मल्ल प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवार रहेका छन् भने समानुपातिकमा माया राना रहेकीछिन् ।












