पोखरा । आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिदै गर्दा नेपाली काँग्रेस स्याङजाले आफ्नो दुई वटै निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई तिब्र पारेको छ ।
उम्मेदवारसंगै जिल्लाका नेताहरुले मतदाता भेटघाट, समस्या तथा सुझाव संकलन जस्ता चुनावी गतिविधिका साथ अभियानलाई तिब्र पारेको हो ।
उम्मेदवारद्धय क्षेत्र नं १ का भरतराज ढकाल र क्षेत्र नं २ का भागवत प्रकाश मल्लका साथमा जिल्लाका नेताहरुले आफ्नो निर्वाचन क्षेत्रका अधिकांश स्थानहरुमा प्रथम चरणका गतिविधिहरु अन्तर्गत चुनावी प्रचारप्रसार सम्पर्क कार्यालय स्थापना, मतदातासंग प्रत्यक्ष भेटघाट र घरदैलो कार्यक्रम सम्पन्न गरिसकेका छन् ।
निर्वाचन आयोगको आचारसंहिता अन्तर्गत फागुन ४ गतेबाट १८ गतेसम्म जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचन सम्बन्धी सामग्री वा प्रचारप्रसार गर्न सकिने भएपछि २ वटै क्षेत्रले चुनावी गतिविधिलाई अझ आक्रमक रुपमा अगाडि बढाएको छ ।
यसैबीच क्षेत्र नं १ का उम्मेदवार भरतराज ढकालले नयाँ भिजनसहित घोषण–पत्र, प्रतिबद्धता र दशबुँदे संकल्प ‘भरत भिजन’ जारी गरेका छन् ।
उम्मेदवार ढकालको दशबुँदे भरत भिजनमा स्वामित्व, उत्पादन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्यम कला,पर्यटन, कल्याण, जोखिम व्यवस्थापन र सुशासन समावेश छन् ।
‘भरत भिजन’को पहिलो बुँदामा जिल्लाका नागरिकको स्वामित्वमा पब्लिक कम्पनी स्थापना गरी कृषि सहितको गौरवका आयोजना संचालन गर्ने, दोस्रो बुँदामा उत्पादनको माध्यमबाट ‘एक वडा, एक उत्पादन’ प्रणालीको विकास मार्फत उद्यमशीलता र आयआर्जन वुद्धि गर्दै जाने, तेस्रो बुँदामा अनिवार्य, व्यवहारिक, बजार उपयोगी, प्रविधिमैत्री र गुणस्तरीय शिक्षा सुनिश्चितता गर्ने, चौथो बुँदामा स्वास्थ्य वीमाको दायरा वृद्धि सहित सर्वसुलभ, गुणस्तरीय र अनिवार्य स्वास्थ्य सेवा दिने र पाँचौं बुँदामा पूर्वाधारतर्फ सबै नागरिकहरुको पहुँचमा स्वच्छ खानेपानी, नवीकरणीय उर्जा, सडक सञ्जाल, इन्टरनेट र खेलकुद पूर्वाधारलाई जोड दिने संकल्प गरेका छन् ।
मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका पूर्व अध्यक्ष समेत रहेका उम्मेदवार ढकालको भरत भिजनको छैटौं बुँदामा बिजनेस इन्कुवेशन, प्रविधिको पहुँच, प्रतिस्पर्धी क्षमता र संस्थागत संरचनाहरुको विकास मार्फत युवा उद्यमशीलताको विकासलाई प्राथमिकता दिने, सातौं बुँदामा स्थानीय कला, संस्कृति, सम्पदा, जैविक विविधता, प्राङ्गारिक उत्पादन प्रवद्र्धन र संरक्षण मार्फत पर्यटन क्षेत्रको विकास गर्ने, आठौं बुँदामा महिला, वृद्धवृद्धा, पिछडिएका वर्ग, गरिब, विपन्न समुदाय लक्षित कार्यक्रम तथा राहतकोषको व्यवस्थासहितको कल्याण कार्यक्रम संचालन गर्ने, नवौं बुँदामा बाँदर लगाएतका जङ्गली जनावर तथा प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरण कार्यक्रम र जोखिमकोष स्थापना गर्ने र अन्तिम दशौं बुँदामा तीनै तहका सरकार र गैरसरकारी निकायहरुको समन्वयमा आधारभूत सेवा कार्यक्रम र आर्थिक सार्वजनिक सुनुवाई गरिने गरी सुशासनको सुनिश्चिता गर्ने संकल्प उल्लेख छन् ।

उम्मेदवार ढकालले आफ्नो घोषणापत्र, प्रतिबद्धता र संकल्पमा उल्लेख सबै बुँदाहरुलाई गम्भीरतापूवर्क लिएर कार्यान्वयनमा आफु लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘मेरो हरेक समय र कार्यहरु मेरो क्षेत्रका जनतामा समर्पित हुनेछन्’ उम्मेदवार ढकालले भने ‘रुख चिन्हमा मत दिनुहोस्, तपाईहरुको अमुल्य मतको कदर गर्दै संकल्पका हरेक बुँदाहरु पुरा गर्नेछु ।’
पछिल्लो समयमा उम्मेदवार ढकालको यिनै संकल्पका बुँदाहरुमा केन्द्रीत रहेर आफ्नो क्षेत्रका हरेक घर, टोल, गाँउ र वडाहरुमा पुगी चुनावी अभियान संचालन गरिरहेको प्रचार विभागका सचिवालय प्रमुख ध्रुव खाँणले जरुवा खबरलाई जानकारी दिए ।

नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं १ का क्षेत्रिय सभापति एवं प्रचार विभाग प्रमुख तुलसीराम रेग्मीका अनुसार नेता तथा कार्यकर्ताहरु उम्मेदवार ढकालको घोषणा–पत्र, प्रतिबद्धता र संकल्पलाई अल्पकालिन, मध्यकालिन र दीर्घकालिन समयमा गर्न सकिने कामको सूचीमा राखेर प्रचारमा लागेका छन् ।
यसैबीच युवा नेता प्रेमराज पौडेलले उम्मेदवार ढकाल युवा, न्यू टेष्ट र भिजन भएको व्यक्तित्व भएकोले सो क्षेत्रका मतदाताहरु बढी उत्साहित हुनुका साथै चुनावी अभियान स्वतस्फुर्त जोडिरहेको जरुवा खबरलाई जानकारी दिए । ‘जेन जी आन्दोलनपछिको समयमा नेपाली युवाहरुले जुन परिवर्तनको आशा गरेका छन् ती आशा र परिवर्तनको संवाहक हाम्रो उम्मेदवार हुन्’ नेता पौडेलले भने ‘जेनजीहरुलाई समेटेर हामी चुनावी गतिविधिमा प्रस्तुत भईरहेका छौं ।’
युवा नेता ढकालको उम्मेदवारीले क्षेत्र नं १ का नेता, कार्यकर्ता एवम् मतदाताहरु उत्साहित बनेको जानकारहरु बताउँछन् ।

स्याङजा क्षेत्र नं १ मा काँग्रेस उम्मेदवार भरतराज ढकालसहित १२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
निर्वाचन क्षेत्र नं १ अन्तर्गत पुतलीबजार नगरपालिका, भिरकोट नगरपालिकाको वडा १ देखि ४ र वालिङ नगरपालिकाको वडा नम्बर ३ र ४ का साथै अर्जुनचौपारी गाँउपालिका, आँधीखोला गाँउपालिका, फेदीखोला गाँउपालिका, विरुवा गाँउपालिका र हरिनास गाँउपालिका गरी पाँचवटा गाँउपालिका पर्दछन् ।






