हर्पनकोट माविको ४४औं वार्षिकोत्सव सम्पन्न

वार्षिकोत्सवकै अवसर पारी विद्यालयमा निर्माण गरिएको सरस्वती मन्दिरको उदघाटन

  • जरूवाखबर

  • पोखरा। पोखरा-२३ कुदवीडाँडस्थित श्री हर्पनकोट माध्यमिक विद्यालयको ४४ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।

    वडाको पुरानो शैक्षिक धरोहरका रूपमा रहेको विद्यालयले पुरस्कार तथा छात्रवृत्ति वितरण, खेलकुद तथा सांस्कृतिक गतिविधि, उत्कृष्ट शिक्षक तथा कर्मचारी सम्मान लगायतका कार्यक्रमको आयोजना गरी विद्यालय परिसरमा वार्षिकोत्सव सम्पन्न गरेको हो ।

    वार्षिकोत्सवकै अवसर पारी विद्यालयमा निर्माण गरिएको सरस्वती मन्दिरको उदघाटन गरिएको छ ।

    कार्यक्रममा शैक्षिक सत्र २०८१ का उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिनुका साथै क्रिकेट, कबड्डी, भलिबल, बेलुन फुटाइ तथा हिसाब दौडजस्ता खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई मेडलसहित पुरस्कृत गरिएको थियो। यसैगरी उत्कृष्ट शिक्षकका रूपमा हरिप्रसाद सापकोटा र उत्कृष्ट कर्मचारीका रूपमा अदिप गुरुङलाई जनही २ हजार ५ सय नगदसहित सम्मानपत्र प्रदान गरिएको छ।

    कार्यक्रमका प्रमुख अतिथि पूर्व राज्यमन्त्री महादेव गुरुङले विद्यालयले विद्यार्थी संख्याअनुसार शैक्षिक गुणस्तर अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याए । आफूले औपचारिक शिक्षा यही विद्यालयबाट सुरु गरेको स्मरण गर्दै गुरुङले त्यसबेला पर्याप्त शैक्षिक सामग्री र योग्य शिक्षकको अभाव रहेको स्मरण गरे।

    अहिले शिक्षकहरूको योग्यता, व्यवस्थापन समितिको लगनशीलता तथा व्यक्ति–संस्थाहरूको आर्थिक एवं जिन्सी सहयोग राम्रो हुँदाहुँदै पनि अपेक्षित परिणाम नदेखिएकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, “शिक्षा दिने गुरुहरू एकसय एक छन्, व्यवस्थापन समितिले दिनरात नभनी काम गरेको देखेको छु। व्यक्ति र संस्थाहरूको सहयोग राम्रो नै छ, तर त्यसअनुसार परिणाम आएको मैले पाएको छैन।” उनले भौतिक विकाससँगै शैक्षिक उपलब्धि पनि अब्बल बनाउन आफू जुनसुकै जिम्मेवारी लिन तयार रहेको बताए।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमान सिंह गुरुङले सहयोगी संस्था र व्यक्तित्वहरूलाई धन्यवाद दिँदै आगामी दिनमा विद्यालयको नतिजा सुधार हुने विश्वास व्यक्त गरे। सिधाने, कुदवीडाँडा, दम्दमे र मकवानपुर गाउँका बालबालिका अध्ययनरत रहेको उल्लेख गर्दै उनले आवासीय व्यवस्थापन गर्न सके विद्यार्थीको नियमित उपस्थिति बढ्ने र शैक्षिक नतिजा सुधार हुने बताए। विपन्नता र बाध्यताका कारण विद्यार्थीको उपस्थितिमा कमी आउने भएकाले अपेक्षित परिणाम प्राप्त गर्न कठिन भएको उनको भनाइ थियो।

    विद्यालयका प्रधानाध्यापक शिव परियारले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक, भौतिक तथा अतिरिक्त क्रियाकलापतर्फ भएका उपलब्धि सार्वजनिक गरे। लेखापाल हुमनाथ पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

    अध्यक्ष हिमान सिंह गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि चेतबहादुर क्षेत्री, धनबहादुर गुरुङ, पूर्व प्रधानाध्यापक मिनबहादुर गुरुङ तथा समाजसेवी भेषराज पराजुली लगायत वक्ताहरूले वडाको पहिलो माध्यमिक विद्यालयका रूपमा यस संस्थाले शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए।कार्यक्रममा स्वागत मन्तव्य शिक्षक सूर्य तिवारीले व्यक्त गरेका थिए भने सञ्चालन हरी प्रसाद ढुङ्गानाले गरेका थिए।

    वार्षिकोत्सवकै अवसरमा पञ्चासे हर्पन डाँडा यूके समाजले विद्यालयलाई २० थान डेस्क, ५० थान प्लास्टिक कुर्सी र ४० थान काठका कुर्सी सहयोग स्वरूप हस्तान्तरण गरेको छ।

    वि.सं. २०१७ सालदेखि पठनपाठन सुरु गरेको विद्यालयले २०३० साल पुस महिनामा कक्षा ४ सम्म सञ्चालन अनुमति प्राप्त गरेको थियो भने वि.सं. २०३३ मा कक्षा ७ सम्म र वि.सं.२०३८ फागुनदेखि निजी स्रोतबाट कक्षा १० सम्म सञ्चालन गर्ने अनुमति पाएको हो।

     

  • ७ फाल्गुन २०८२, बिहीबार २३:०८ प्रकाशित