पोखरा। सर्लाही क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’का डा. अमरेश कुमार सिंह विजयी बनेका छन् ।
नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई १२ हजार ८५७ मतान्तरले पछि पार्दै विजयी बनेका हुन् ।
आइतबार बिहान आएको परिणाम अनुसार रास्वपाका सिंहले ३५ हजार ६ सय ८८ मत प्राप्त गर्दै विजयी भएका हुन्।
थापाले २२ हजार ८ सय ३१ मत प्राप्त गरेका छन् । यो पराजयसंगै २०६४ सालदेखि संसदीय यात्रामा रहेका थापाको १८ वर्षे संसदीय यात्रामा ब्रेक लागेको छ । पहिलोपटक समानुपातिक प्रणालीबाट निर्वाचित उनले पछिल्लो ३ पटक काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट जित निकालेका थिए ।
थापा गत पुसमा भएको कांग्रेसको दोस्रो महाधिवेशनबाट कांग्रेसको सभापतिमा निर्वाचित भएका थिए भने कांग्रेसले गगनलाई नै भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको थियो ।
विजयी अमरेश कुमार मधेशकेन्द्रित आन्दोलन गर्दै मधेशी जनाधिकार फोरममार्फत आफ्नो राजनीतिक यात्रा सुरु गरेका र पछि उनी नेपाली कांग्रेसमा प्रवेश गरी सक्रिय राजनीतिमा लागे व्यक्ति हुन् ।
२०७० र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी सर्लाही क्षेत्र नं. ४ बाट सांसद निर्वाचित भएका थिए । त्यसपछि २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।






