नेपाली बजारमा सुनको मूल्यमा गिरावटको क्रम जारी
  • जरूवाखबर

  • पोखरा । नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट हुने क्रम सोमबार पनि जारी रह्यो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७५ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि सुनको मूल्य १२ हजार ५ सय रुपैयाँले घटेको थियो।

    एक साताको अवधिमा मात्रै सुनको मूल्य कुल ३४ हजार रुपैयाँले घटिसकेको छ।

    गत सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने हालसम्मकै उच्च मूल्य माघ १५ गते ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।

    अन्तर्राष्ट्रिय बजारका कारण पनि सुनको भाउमा दबाब परेको देखिन्छ। पश्चिम एसियामा बढ्दो द्वन्द्वका कारण तेलको मूल्य वृद्धि भएको छ, जसले अमेरिकी डलरको माग बढाएको छ। विभिन्न देशहरूले डलरको जोहो गर्न सुन बिक्री बढाउँदा सुनको मूल्य घट्न पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

    यसैगरी सोमबार चाँदीको मूल्य पनि गिरावट आएको छ। आईतबार प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको चाँदी ११५ रुपैयाँले घटेर ४ हजार ४२५ रुपैयाँमा झरेको छ।

  • ९ चैत्र २०८२, सोमबार ११:४९ प्रकाशित