काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेका केसीलाई राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
संघीय संसद सचिवालका अनुसार ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराउने कार्यतालिका छन्।
प्रतिनिधि सभाबाट नयाँ सभामुख निर्वाचित नहुँदासम्म केसीले नै संसद् बैठक सञ्चालन गर्नेछन्।
सांसदको शपथपछि रास्वपाको केन्द्रीय समितिको बैठकबाट विधान संशोधन गरि बालेन्द्र शाह ‘बालेन’लाई संसदीय दलको नेता चयन गर्नेछ। त्यसपश्चात राष्ट्रपति पौडेलले संविधानको धारा ७६ ‘१’ अनुसार बालेनलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने छन्।
एकल बहुमत रहेको रास्वपाले शुक्रबार सरकार गठन गर्दैछ।
प्रतिनिधि सभाका २७५ सांसदमध्ये हालसम्म मातृभाषामा शपथ लिनका लागि ४७ सांसदले नाम दिएको संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए।






