काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारमा बन्ने मन्त्रीहरुको नाम टुंगो लागेको छ।
रास्वपाका सुधन गुरुङ गृह स्वर्णिम वाग्ले अर्थ, शिशिर खनाल परराष्ट्र, गणेश पौडेल संस्कृति, दीपक साह श्रम, सस्मित पोखरेल शिक्षा, बिक्रम तिमिल्सिना सूचना, प्रतिभा रावल सामान्य प्रशासन, विराजभक्त श्रेष्ठ ऊर्जा, गीता चौधरी कृषि, सोविता गौतम कानुन, सिता बादी महिला तथा बालबालिका, र सुनील लम्साल भौतिक पूर्वाधार मन्त्री बन्ने भएका छन्।
रास्वपाका धेरै नेताहरुको दाबी रहेको गृह मन्त्रालयको जिम्मेवारी भने सुधन गुरुङले पाउने भएका छन्। जेन–जी आन्दोलनका बेला चर्चामा आएका गुरुङ गोरखा–२ बाट निर्वाचित भएका थिए।
त्यस्तै रास्वपाका उपसभापति स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने भएका छन्। उनी अर्थ मामिलाका जानकार हुन्। उनी तनहुँबाट दुई पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् . त्यस्तै शिशिर खनाल परराष्ट्र मन्त्री बन्ने भएका छन्। उनी रास्वपाको परराष्ट्र विभागका प्रमुख हुन्।
खडकराज पौडेल ‘गनेस’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन्। साहित्यकार समेत रहेका उनी कास्कीबाट निर्वाचित भएका थिए। त्यस्तै, श्रममन्त्रीमा महोत्तरीका दीपक साह बन्ने भएका छन्।
शिक्षा तथा प्रविधि मन्त्री भने काठमाडौं–५ बाट निर्वाचित सस्मित पोखरेल बन्ने टुंगो लागेको छ। सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको जिम्मेवारी भने बिक्रम तिमिल्सिनाले लिनेछन्।
त्यस्तै प्रतिभा रावल सामान्य प्रशासन मन्त्री हुने भएकी छिन्। उनी पत्रकारिता पृष्ठभूमिकी हुन्। उनलाई रास्वपाले समानुपातिकबाट सांसद बनाएको थियो। रावल रास्वपाकी सहप्रवक्ता समेत हुन्।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी विराजभक्त श्रेष्ठले पाउने भएका छन्। काठमाडौंबाट निर्वाचि भएका उनी यसअघि रास्वपा संसदीय दलको नेता समेत थिए।
कृषि तथा सहकारी र बन मन्त्रालयको जिम्मेवारी भने गीता चौधरीलाई दिइने भएको छ। उनी रास्वपाको सामानुपातिक सूचीमा निर्वाचित भएकी उनलाई मन्त्रालय बाँडफाँटमा कृषि मन्त्रालयको जिम्मेवारी दिइएको हो। अधिवक्तासमेत रहेकी उनी गत फागुनको निर्वाचनभन्दा केही दिन अघि मात्र रास्वपामा प्रवेश गरेकी थिइन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी भने सोविता गौतमले पाउने भएकी छिन्। उनी कानुनको जानकार तथा अधिवक्ता समेत हुन्। २०७९ को चुनावमा काठमाडौं–२ बाट निर्वाचित गौतम यसपटक चितवन–३ पुगेर चुनाव लडेकी थिइन्।
सिता बादी महिला तथा बालबालिका मन्त्री बन्ने भएकी छिन्। भौतिक पूर्वाधार तथा सहरी बिकास मन्त्री भने सुनील लम्साल बन्ने भएका छन्।
रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच आज बिहान भएको छलफलमा मन्त्रीहरुको नाम टुंगो लागेको हो।






