पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ

नेपालको इतिहासमा मुलुकको कार्यकारी प्रमुख पक्राउ परेको यो पहिलो घटना

  • जरूवाखबर

  • काठमांडौ । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

    ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाटै र लेखकलाई पनि भक्तपुरको कटुञ्जेस्थित आफ्नै निवासबाटै पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको हो।

    भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो ।

    तीन दिनअघि मिडियाहरुमा सार्वजनिक भएको जाँचबुझ आयोगको प्रतिवेदनमा पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वप्रहरी महानिरिक्षक चन्द्र कुवेर खापुङ लगायतमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १८२ को कसुर गरेको आरोपमा पक्राउ गरेको हो ।

    नवनियुक्त प्रधानमन्त्री बालेन शाहले शपथ लिएको केही घण्टाभित्रै बसेको मन्त्रिपरिषद बैठकले सुरक्षाकर्मीहरु बाहेकका हकमा गौरीबहादुर कार्की नेतृत्वको आयोगले पेश गरेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

    मन्त्रिपरिषदको निर्णय प्रमाणिकरण नहुदै गृहमन्त्री सुदन गुरुङले भदौ २३ को घटनामाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका थिए । त्यसपछि आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णय कार्यान्वयन र त्यसपछिको पत्राचारका कागजात तयार गर्न कानून सचिव पारश्वर ढुंगाना रातभर खटिएका थिए ।

    नेपालको इतिहासमा मुलुकको कार्यकारी प्रमुख ज्यानमुद्दामा पक्राउ परेको यो पहिलो घटना हो । यसअघि कतिपय अवस्थामा राजनीतिक प्रकृतिका घटना र प्रदर्शनमा पूर्वप्रधानमन्त्रीहरु प्रहरी नियन्त्रणमा रहेपनि फौजदारी जाहेरीको अनुसन्धानका सिलसिलामा पक्राउ परेका थिएनन् ।

    यसैबीच ओली र लेखक पक्राउ पछि गृहमन्त्री गुरुङले कानुनभन्दा माथि कोही नभएको र कसैप्रति प्रतिशोध नगरिएको टिप्पणी गरेका छन्। ‘PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।’ उनले भने ‘मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।’

  • १४ चैत्र २०८२, शनिबार ०९:३० प्रकाशित