काठमाडौँ । मध्यपूर्व द्धन्द्धका कारण कुवेतमा रोकिएका नेपालीहरुलाई कुवेत एयरवेजको चार्टर्ड उडानबाट बुधबार नेपाल ल्याईएको छ । सो उडानबाट ३ सय १८ नेपाली यात्रुहरु नेपाल ल्याईएको हो ।
सोही चार्टर्ड उडानमार्फत चारजना महिलासहित ९ जना नेपाली श्रमिकको शव पनि स्वेदश ल्याइएको छ ।
वैदेशिक रोजगार बोर्डका अनुसार सिराहाका रमेशकुमार मोची, दाङका खुसीराम चौधरी, सिन्धुपाल्चोककी सम्झना गोले, उदयपुरकी कोपिला धामी, खोटाङ वसन्त राई, सुर्खेतकी यमुना सुनार, सल्यानका कृष्णराम्जा बुढा, सिन्धुलीकी मञ्जु मोक्तन पाख्रिन र कास्कीका रमेश नेपालीको शव आएको हो । उनीहरुको शवलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि घरसम्म लैजाने प्रबन्ध गरिएको बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले बताए ।
गत १६ फागुनमा अमेरिका–इजरायलले इरानमा गरेको आक्रमण प्रतिकारस्वरुप इरानले पनि अमेरिकी सैन्य क्याम्प भएको कुवेत, बहराइन, साउदी अरब, कतार र ओमान श्रृंखलाबद्ध आक्रमण जारी गरेपछि कुवेतको विमानस्थलमा सञ्चालनमा थिएन ।





