पोखरा,चैत १९ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ बिहीबारदेखि सुरु हुँदै छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ भने पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा रहेको छ। परीक्षा तालिका अनुसार चैत २९ गते परीक्षा सकिने छ।
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय ‘कक्षा १०’ का सूचना अधिकारी लक्ष्मी मरासिनीका अनुसार यो वर्ष ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी छन्। नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ र आंशिकतर्फ ७ हजार ८ सय ५५ परीक्षार्थी रहेका उनले जनाएकी छन्। त्यसैगरी परीक्षामा प्राविधिक धारतर्फ नियमितमा १६ हजार ३ सय १२ र आंशिकमा २ सय ६४ गरी १६ हजार ५ सय ७६ जना परीक्षार्थी छन्।
यो वर्ष छात्रको संख्या २ लाख ५४ हजार ८ सय १ रहेको छ भने २ लाख ५७ हजार ६ सय १३ छात्रा छन्। ७ जना फरक लिंगी परीक्षार्थीले परीक्षा दिदैछन् ।
यस वर्ष गण्डकी प्रदेशमा ४३ हजार ३ सय ५५ विद्यार्थी सहभागी हुने भएका छन्। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा विकास महाशाखा, पोखराका अनुसार प्रदेशका ११ जिल्लाबाट नियमित, प्राविधिक तथा ग्रेडवृद्धि समूहका विद्यार्थीहरू परीक्षामा सहभागी हुन लागेका हुन्।
जिल्लागत विवरणअनुसार कास्कीमा सबैभन्दा धेरै १० हजार ८ सय ४३ विद्यार्थी सहभागी हुनेछन्।
त्यसपछि तनहुँमा ६ हजार १ सय ५५, नवलपुरमा ६ हजार ७ सय १२, स्याङ्जामा ४ हजार २ सय ८८ र बागलुङमा ४ हजार २ सय ३९ विद्यार्थी रहेका छन्। त्यस्तै गोरखामा ३ हजार ७ सय ९७, लमजुङमा २ हजार ८ सय ६२, पर्वतमा २ हजार २ सय १७ र म्याग्दीमा २ हजार २२ विद्यार्थी सहभागी हुनेछन् । मुस्ताङमा १ सय ८६ जना विद्यार्थी रहेको विवरणमा उल्लेख छ।
त्यसैगरी सबैभन्दा कम परीक्षार्थी मनाङमा छन्। यहाँ एक मात्र परीक्षा केन्द्र रहेको र जम्मा परीक्षार्थीको संख्या ३४ रहेका छन् ।
प्रदेशभर १८७ वटा परीक्षा केन्द्र तोकिएको छ भने सबै केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन गरिसकिएको जनाइएको छ । परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरूलाई जिम्मेवारी दिइएको छ।
गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले एसईई परीक्षालाई विद्यार्थीमैत्री, सुरक्षित, स्वच्छ तथा मर्यादित वातावरणमा सम्पन्न गराउन सबै सरोकारवालाहरूलाई समन्वय र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
मन्त्रालयका अनुसार एसईई विद्यार्थीहरूको शैक्षिक जीवनको महत्वपूर्ण मोड भएकाले यसलाई तनावमुक्त, अनुशासित र सकारात्मक वातावरणमा सम्पन्न गराउन अभिभावक, शिक्षक, विद्यालय प्रशासन, सुरक्षाकर्मी तथा सञ्चारकर्मीबीच सहकार्य आवश्यक छ।
अभिभावकहरूलाई घरमै शान्त र अध्ययनमैत्री वातावरण सिर्जना गर्न, बालबालिकासँग नियमित संवाद गर्न र अनावश्यक दबाब नदिन आग्रह गरिएको छ। “निश्चित ग्रेड ल्याउनैपर्छ” भन्ने सोचभन्दा प्रयासको कदर गर्दै आत्मविश्वास बढाउने वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ।
विद्यालय र शिक्षकहरूलाई विद्यार्थीको शैक्षिक अवस्था र मनोस्थिति बुझी अभिभावकसँग समन्वय गर्न, डररहित वातावरण सिर्जना गर्न तथा आवश्यक परे अतिरिक्त सहयोग उपलब्ध गराउन निर्देशन दिइएको छ । टाढाबाट आएका विद्यार्थीहरूको व्यवस्थापनमा पनि विशेष ध्यान दिन भनिएको छ।
केन्द्राध्यक्ष, निरीक्षक तथा सुरक्षाकर्मीहरूलाई परीक्षा वातावरण बालमैत्री बनाउन, अनावश्यक कडाइ वा त्रास नदेखाउन तथा परीक्षार्थीको गोपनीयता कायम गर्न निर्देशन दिइएको छ। परीक्षा केन्द्रमा स्वच्छ खानेपानी, शौचालय, सेनिटरी प्याड र प्राथमिक उपचारको व्यवस्था अनिवार्य गरिएको छ।
यो वर्ष नयाँ अभ्यासको रूपमा परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनअनुसार १ महिनामै परीक्षाफल सार्वजनिक हुने बताईएको छ ।






