फेवाताल किनारका संरचनाहरुमा डोजर
  • जरूवाखबर

  • पोखरा । पोखराको फेवाताल किनारमा रहेका मापदण्ड विपरीतका अस्थायी संरचनामा डोजर लगाइएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार शनिबार बिहानैदेखि तालको ६५ मिटर भित्र पर्ने अस्थायी संरचना भत्काउन थालिएको हो।

    जिल्ला प्रहरी कार्यालय, बैदाम प्रहरी, नगर प्रहरी र सशस्त्र गरी झण्डै डेढ सय प्रहरीलाई फिल्डमा खटाइएको थियो । बिहान साढे चार बजेदेखि नै प्रहरी परिचालन गरेर भत्काउन थालिएको हो । बिहानैदेखि झण्डै ३० वटा संरचनामा डोजर चलेको कास्की प्रहरीका प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए ।


    सोही क्रममा सर्वाधिक चासोमा रहेको चर्चित पर्यटन व्यवसायीको वाटर फ्रन्ट रिसोर्टको स्विमिङ पुल,गेट र पर्खालहरू पनि भत्काइएका छन् ।

    कुनै ठुलो अवरोध नभए पनि केही स्थानीयले सामान्य असहमति जनाएका थिए । संरचना भत्काउन मध्यरातमा काठमाडौँबाट निर्देशन आएको थियो । त्यसकै आाधारमा प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरेको थियो । मध्यराति नै पोखरा महानगरसँग प्रहरीले समन्वय गरेको हो । सोही आधारमा नगरप्रहरी समेत खटिएका थिए।

    डोजरदेखि सबै समन्वय महानगरले गरेको थियो । मेयर धनराज आचार्यका अनुसार, हटाइएका सबै संरचना अस्थायी हुन् ।‘अहिले भत्काइएका संरचनाहरू अस्थायी हुन् । यसले भोगाधिकार वा मुआब्जा पाउने प्रक्रियामा कुनै असर गर्दैन’ उनले भने‘धेरै व्यवसायीहरू अदालतबाट स्टे अर्डर लिन जानुभएको थियो तर अदालतले पनि स्टे अर्डर नदिएपछि यो प्रक्रिया अगाडि बढेको हो ।’

    पछिल्लो समय सर्वोच्चको आदेशपछि प्रदेश सरकारसँगको समन्वयमा ताल किनारमा पोल गाड्ने काम सकिएको छ । अहिले ६५ मिटरको सीमाना छुट्याउने काम चलिरहेको छ । बुधबार पोखरा महानगरले हालसम्म भएको प्रगति विवरण प्रधानमन्त्री कार्यालयलाई बुझाएको थियो ।

  • २१ चैत्र २०८२, शनिबार १०:३४ प्रकाशित