पोखरा । नेपाली लेखक संघ कास्कीको छैटौं अधिवेशनले कमल पौडेल ‘अथक’को अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
उपाध्यक्षमा चन्द्रावती वाग्ले, सचिवमा रोशन तिमिल्सिना, सहसचिवमा वसन्त चालिसे र कोषाध्यक्षमा गायत्री पराजुली निर्वाचित भएका छन् । सदस्यमा भेषराज पौडेल चयन भएका छन् भने बाँकी सदस्य तथा सल्लाहकारहरू आगामी कार्यसमिति बैठकबाट चयन गरिने अध्यक्ष अथकले बताएका छन् ।
संघका सल्लाहकार लक्ष्मी थापाको संयोजकत्वमा हीममाया पौडेल र अमृत क्षेत्री सदस्य रहेको निर्वाचन समितिले उक्त कार्यसमिति निर्वाचित गरेको हो । निर्वाचनपछि नवनिर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक लक्ष्मण थापा, सदस्य हीममाया पौडेल र अमृत क्षेत्री तथा सल्लाहकार डा। लक्ष्मीशरण अधिकारीले प्रमाणपत्र प्रदान गरे।

अधिवेशनको उद्घाटन सत्रमा संघका सल्लाहकार प्रा. डा.लक्ष्मीशरण अधिकारीले लेखकीय स्वतन्त्रता र लोकतन्त्रवादी लेखक–साहित्यकारहरूको जमघट हुने थलोका रूपमा लेखक संघ रहेको बताए ।
कार्यक्रममा संघकी अध्यक्ष रीता अधिकारीको अध्यक्षतामा केन्द्रीय उपाध्यक्ष इश्वरमणि अधिकारी, प्रदेश अध्यक्ष दीपक समीप, उपाध्यक्ष कमल पौडेल ‘अथक’ र सचिव सञ्जय न्यौपाने ‘प्राञ्जल’ले लगायतले आआफ्ना भनाई राखेका थिए ।






