काठमाडौं । सांसद महावीर पुनले नातावाद, कृपावाद र चाकरीवादजस्ता प्रवृत्तिबाट सरकार मुक्त हुनु पर्ने बताएकाछन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै पुनले भने ‘ नातावाद, कृपावाद र चाकरीवादजस्ता प्रवृत्तिले शासन प्रणालीलाई कमजोर बनाउछ, यस्ता विकृतिबाट सरकार र राजनीतिक दलहरु मुक्त हुनु पर्छ ।’
सांसद पुनले नेपाल एकीकरणपछिदेखि नै यस्तो प्रवृत्ति मौलाउँदै आएको दाबी गर्दै आगामी दिनमा मन्त्री वा सांसदले आफ्ना आफन्तलाई सार्वजनिक पदमा नियुक्त नगर्ने प्रवृत्ति सिर्जना गर्न आग्रह गरे। अनुरोध गर्दछु।
‘म सरकार र सबै राजनीतिक दलहरूलाई के अनुरोध गर्न चाहन्छु भने, नेपालमा सदियौँदेखि रहेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादजस्ता भाइरसबाट बच्नुहोस्’ पुनले भने ‘यो भाइरस खासगरी नेपाल एकीकरण भएपछि रणबहादुर शाहको पालादेखि सुरु भएको हो। यो भाइरसले अझै पनि छोडेको छैन। आगामी दिनमा यो मन्त्रीले, सांसदले आफ्ना आफन्तलाई फलानो पदमा नियुक्त गर्यो भन्ने कुरा सुन्नु नपरोस्।’





