काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री साहलाई पदमुक्त गरेका हुन् ।
मन्त्री नियुक्ति भएको दुई हप्तामा नै विवादमा मुछिएपछि ‘रास्वपा’ले कार्यसम्पादनमा असन्तुष्टि जनाउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपकुमार साहलाई फिर्ता बोलाउने तयारी गरेको थियो ।
रावपाले पार्टीको फिर्ता बोलाउने ‘राइट टु रिकल’ को व्यवस्था अनुसार १३ दिनअघिमात्र श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री बनेका साहलाई फिर्ता बोलाएको हो ।
मन्त्री साहले बहालमा रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय राखिएको स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियमित गराउन चलखेल गरेका थिए । त्यसबारे रास्वपाको अनुशासन आयोगले अध्ययन गरेको थियो । आयोगको अध्ययनपछि पार्टीलाई सोही अनुसार कारबाहीका लागि चैत २५ गते सिफारिस गरेको थियो ।
रास्वपा पार्टी विधानको धारा २५’४’ ‘क’ ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सुम्पेको र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने व्यवस्था छ ।
पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई लेखेको पत्रमा भनिएको छ, ‘पार्टी विधानको धारा २५ ‘४’ ‘क’ ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सुम्पेको र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन ‘राइट टु रिकल’ को व्यवस्था भएकोले निज माननीय मन्त्रीलाई जिम्मेवारीबाट अलग गर्न सिफारिस गर्दछु ।’

यसअघि, पार्टीको केन्द्रीय अनुशासन आयोगले साहलाई अनुशासनात्मक कारबाहीको लागि पार्टी सभापति रवि लामिछानेलाई सिफारिस गरेको थियो ।





