काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने कार्यमा भएको अनियमिततासम्बन्धी उजुरीको अनुसन्धानपछि विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीका तत्कालीन प्रशासन अधिकृत (आठौं तह) शंकर थापा र तत्कालीन कम्प्युटर अपरेटर जगत ढकालको मिलेमतोमा जिल्ला बागलुङको गलकोट नगरपालिका–२ का हिम बहादुर बस्नेत थापालाई कुनै पनि वर्गको सवारी चालक अनुमतिपत्र जारी नै नभएको अवस्थामा झुट्टा अभिलेख तयार पारिएको थियो।
अनुसन्धानबाट पुष्टि भए अनुसार, उनीहरूले सरकारी अभिलेखमा हेरफेर गरी हिम बहादुर बस्नेत थापाको नाममा ब् र द्य वर्गको सवारी चालक अनुमतिपत्र नम्बर ०१–०७–०१०३५२८० जारी गरेको देखाइएको छ।
उक्त लाइसेन्सको जारी मिति २०५८/१२/२७ र म्याद सकिने मिति २०७८/१२/२२ उल्लेख गरिएको थियो। यसरी झुट्टा विवरण प्रविष्ट गरी २० वर्षसम्म बहाल रहने गरी गलत लिखत तयार पारिएको र मिति २०७८/१२/१५ मा प्रतिलिपि समेत दिइएको आयोगले जनाएको छ।
आयोगले शंकर थापा र जगत ढकाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिमको कसुरमा सजायको माग गरेको छ भने हिम बहादुर बस्नेत थापालाई सोही कसुरको मतियार भई दफा २२ बमोजिम मुख्य कसुरदार सरह सजाय हुनुपर्ने मागदाबी लिएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत यो जानकारी दिएका हुन्।






