पोखरामा २१औं फेवा नववर्ष महोत्सव सुरु
  • जरूवाखबर

  • पोखरा । होटल संघ पोखराको आयोजनामा आईतबारदेखि २१औं संस्करणको फेवा नववर्ष महोत्सव २०८३ सुरु भएको छ ।

    पर्यटन, संस्कृति र खानालाई मुख्य प्राथमिकतामा राख्दै आयोजना गरिएको महोत्सवले नयाँ वर्षको अवसरमा ३ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । लेकसाइडको खहरेबाट विभिन्न जातजाति र समुदायका झाँकी एवं पञ्चेबाजासहित निकालिएको र्‍याली अम्बोट पुगेर औपचारिक उद्घाटन समारोहमा परिणत भएको थियो ।

    महोत्सवको उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले महोत्सवमा देखिएको यो सांस्कृतिक ऐक्यबद्धताले पोखरालाई सुरक्षित र सुन्दर सहरका रूपमा अझै अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।

    महोत्सवलाई लक्ष्य गरी होटल संघले विशेष सहुलियतको समेत घोषणा गरेको छ । होटल संघ पोखराका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीका अनुसार महोत्सव अवधिभर संघअन्तर्गतका होटलहरूले प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गर्नेछन् ।

    महोत्सवमा यसपटक सातै प्रदेशका सांस्कृतिक नाच, पप कन्सर्ट र मौलिक पञ्चेबाजा प्रतियोगितालाई मुख्य आकर्षणका रूपमा राखिएको छ ।

    महोत्सवको दोस्रो दिन सोमबार खहरेबाट दुलही लिन अम्बोट पुग्ने मौलिक शैलीमा पञ्चेबाजा प्रतियोगिता हुने र त्यसमा १५ वटा समूहले भाग लिने आयोजकले बताए ।

    यस्तै लेकसाइडका गौरीघाट, सेन्टर प्वाइन्ट र अम्बोटका चौताराहरूमा सांस्कृतिक प्रस्तुति र रत्यौलीका कार्यक्रमसमेत समावेश गरिएको छ ।

    शहिदचोक र खहरेबीचको सडकमा सञ्चालित महोत्सव आगामी वैशाख १ गते रातिसम्म चल्नेछ ।

  • २९ चैत्र २०८२, आईतवार २३:०३ प्रकाशित