काठमाडौँ । प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उनको निधन भएको हो ।
डा. प्रतित समदानीले भोसलेको निधनको पुष्टि गरेका छन् । उनको निधनको कारण ‘मल्टी-अर्गान फेलियर’ रहेको पनि बताईएको छ । थकित महसुस हुने र छातीमा संक्रमण देखिएपछि उनलाई गत अप्रिल ११ मा अस्पताल भर्ना गरिएको थियो ।
सन् १९३३ मा जन्मिएकी आशाले मात्र १० वर्षको उमेरमा सन् १९४३ को मराठी फिल्म ‘माझा बाल’ बाट गायन यात्रा सुरू गरेकी थिइन् । सन् १९४८ मा ‘चुनरिया’ फिल्ममार्फत हिन्दी सिनेमामा प्रवेश गरेकी उनले सन् १९५७ को ‘नयाँ दौर’ बाट व्यावसायिक सफलताको उचाइ छोएकी थिइन् ।
१२ हजारभन्दा बढी गीतमा गाएकी आशा भोसले नेपाली गीत संगीत क्षेत्रमा प्रसिद्ध छिन् । उनले ‘माइतीघर’ फिल्मको लोकप्रिय गीत ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, संगीतकार रञ्जित गजमेरसँगको सहकार्यमा ‘के सोचेँ मैले’, ‘झझल्को लिएर आएछ सावन’ र ‘चोखो पिरती लाएर’ जस्ता कालजयी गीत गाएकी छन् । नारायण गोपालसँगको उनको युगल गीत ‘मोहनी लाग्ला है’ चर्चित गीतमध्ये एक मानिन्छ ।यसका साथै ‘सुन सुन मेरो कथा’, ‘गैरी खेतको शिरै हान्यो’, ‘उकाली ओराली’ र ‘साउने झरीमा’ जस्ता गीतहरूका कारण उनलाई नेपाली स्रोताले सदैव मनमा लिइरहनेछन् ।
आशाका छोरा आनन्द भोसलेले सोमबार अपराह्न ४ बजे मुम्बईको शिवाजी पार्कमा अन्तिम संस्कार गरिने जानकारी दिएका छन् ।





