काठमाडौँ । व्यवसायी एवम् हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ ।
गोल्छालाई काठमाडौं जिल्ला अदालतबाट आजै पक्राउ अनुमति लिएपछि केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’बाट खटिएको टोलीले काठमाडौँको नारायणचौर ‘नक्साल’ बाट उनलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख मनोज केसीले बताए ।
ब्युरोका अनुसार धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा पक्राउ परेका हुन् । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा ९१० र दफा ९८ बमोजिम कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ ब्युरोमा प्राप्त हुन आएकोमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको हो ।
विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललगायत समूहको मिलेमतोमा भएको सेयर कारोबारको विषयमा धितोपत्र बोर्डले जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन तयार पारेको थियो । जसमा गोल्छासहितका ६ जनाको मिलेमतो भएको आशंका गरिएको छ ।सोही प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरेको बुझिएको छ ।
गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत हुन्।





