पोखरा । कास्की प्रहरीले चलाएको स्वीप अपरेसनमा बुधबार राती मात्रै १ सय २२ जना पक्राउ परेका छन् । जिल्लामा शान्ति सुरक्षा कायम गर्न र अवाञ्छित गतिविधि नियन्त्रण गर्न कास्की प्रहरीले चलाएको अपरेसनका क्रममा एकै रात यत्तिधेरै संख्यामा पक्राउ परेका हुन् ।
कास्की प्रहरीले आफ्ना मातहतका विभिन्न युनिटहरूसँग समन्वय गरी चलाएको अपरेसनमा पोखराका विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक एवम् सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा सबैभन्दा बढी बैदाम क्षेत्रबाट ३९ जना छन् । यसैगरी रामबजार क्षेत्रबाट २२ जना, बगरबाट १२ जना, सिसुवा क्षेत्रबाट ३८ जना र पृथ्वीचोक आसपासका क्षेत्रबाट ११ जना पक्राउ परेका छन् ।
पक्राउ परेकामध्ये अधिकांश लागुऔषध ‘गाँजा’सेवनमा संलग्न रहेको भेटिएको छ । ८२ जना गाँजा सेवन गरिरहेको अवस्थामा भेटिएका थिए । यसबाहेक सार्वजनिक स्थलमा होहल्ला गर्ने, सर्वसाधारणलाई बाधा पुर्याउने, शान्ति खलल पार्ने र जथाभाबी मोटरसाइकल चलाएर ध्वनि प्रदूषण गर्नेहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरूलाई सम्झाइबुझाई गरेर परिवारको जिम्मा लगाइने प्रहरी निरिक्षक पाण्डेले बताए । ‘आउँदा दिनहरुमा यस्ता गतिविधि नगर्ने प्रतिबद्धता सहित अभिभावकको जिम्मा लगाउँदैछौँ’ उनले भने






