पोखरा, ११ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ । पार्टीभित्रको मतभेद र नेतृत्वको प्रतिस्पर्धाले सर्वसम्मत रुपमा दलको नेता बनाउने कसरत असफल भएपछि निर्वाचनबाट चयन गर्ने भएको हो।
आज नै उम्मेदवारी दर्ता र निर्वाचन हुने तय भएको छ । उम्मेदवारी दर्ताका लागि दिउँसो ३ बजेदेखिको समय तोकिएको छ भने निर्वाचनका लागि भने अपराह्न ५ बजेदेखिको समय तोकिएको छ ।
उम्मेदवारको प्रथम नामावली दिउँसो ३:१० मा सार्वजनिक गर्ने र ३:२० सम्म उम्मेदवारीमा दाबी विरोध गर्ने समय निर्धारण गरिएको छ। दाबी विरोधउपर जाँचबुझ दिउँसो ३:२५ बजे, उम्मेदवारको दोस्रो नामावली प्रकाशन दिउँसो ३:३० बजे गरिनेछ।
उम्मेदवारको नाम फिर्ता लिने समय दिउँसो ४:३० बजे, अन्तिम नामावली प्रकाशन ४:४० बजे र ५ बजे मतदान हुनेछ। मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुनेछ। आज शुक्रबार नै मतगणना र मतपरिणाम सार्वजनिक गरिनेछ।
निर्वाचन समितिले वैशाख ७ गते सार्वजनिक गरेको ‘निर्वाचन कार्यक्रम’ अनुसार हिजो बिहीबार मतदाताको नामावली प्रकाशित गरिएको छ । निर्वाचन समितिमा पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइली संयोजकत्व र केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटवाल सदस्य रहेकाछन् ।
संसदीय दलको नेतामा अहिलेसम्म तीन सांसद आकांक्षी रहेको नेताहरू बताउँछन् । आकांक्षीहरुमा भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्य रहेकाछन् । तीनै सांसदले दलको नेताका लागि दाबी प्रस्तुत गर्दै आफ्नो पक्षमा माहौल बनाउने प्रयास गरिरहेका छन् ।
प्रमुख प्रतिपक्षी दलको नेता संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले आकांक्षीहरु आफ्नो पल्लाभारी बनाउन प्रयास गरिरहेका छन् । दाबी गर्नेमध्ये आचार्यले रसुवाबाट प्रत्यक्ष निर्वाचन जितेका हुन् भने आङदेम्बे र केसी समानुपातिक प्रणालीबाट सांसद बनेका हुन् । केसी र आङदेम्बे दुवै पार्टीका पूर्वसहमहामन्त्री पनि हुन् ।
पछिल्लो समयमा पार्टीभित्र देखिएको विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधर भन्दै दुई गुटमा विभक्त कांग्रेसमा केसी र आचार्य विशेष महाधिवेशन पक्षधर हुन् भने आङ्देम्बे नियमित महाधिवेशन पक्षधर हुन् ।
पार्टीको १४औँ महाधिवेशनमा केसी डा. शेखर कोइराला समूहबाट केन्द्रीय सदस्य र आङ्देम्बे शेरबहादुर देउवा समूहबाट सहमहामन्त्रीमा विजयी भएका थिए । आचार्य १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य र अहिले विशेष महाधिवेशनबाट पनि केन्द्रीय सदस्य भएका छन् ।
संसदीय दलका नेता चयनका विषयमा पदाधिकारी नै दुई खेमामा बाढिएका छन् । उपसभापति विश्वप्रकाश शर्मा आङदेम्बेलाई दलका नेता बनाउन लागिपरेका छन् भने सभापति गगन थापासहित अन्य पदाधिकारी केसीको पक्षमा खुलेर लागेका छन् ।
आङदेम्बेलाई वर्तमान उपसभापति विश्वप्रकाश शर्मा, निवर्तमान सभापति शेरबहादुर देउवा समूह र डा शेखर कोइराला समूहले समर्थन गरेका छन् । उपसभापति शर्मा आङ्देम्बेतिर लागेपछि उनी निकटका सांसद निश्कल राईसहित पनि आङदेम्बेकै पक्षमा छन् ।
सभापति थापा केसीलाई दलको नेता बनाउँदा आफ्नै ससुरालाई बनाए भन्दै परिवारको आरोप लाग्छ कि भनेर पदाधिकारीहरूलाई बताइरहेका छन् । केसीले सकभर आफू हुने, आफू हुन नसके आफूले भनेको व्यक्तिलाई दलको नेता बनाउनुपर्छ भनेपछि समस्या बल्झिएको एक पदाधिकारीले बताए । केसीले आफू नभए आचार्यलाई संसदीय दलको नेता बनाउनुपर्ने अडानमा रहेको ती पदाधिकारीको भनाइ छ । सहमतिकालागि प्रयासरत नेताहरूका अनुसार कसैले पनि दाबी छोड्ने सम्भावना अहिलेसम्म देखिएको छैन ।
कांग्रेसको संसदीय इतिहासमा २०६४ को निर्वाचनपछि अहिलेसम्म दलको नेता निर्वाचनबाटै छानिएका छन् । अहिले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वलाई सर्वोच्च अदालतले आधिकारिकता दिएपछि आन्तरिक गुटबन्दी चरमोत्कर्षमा पुगेको छ । तसर्थ मतदानमार्फत् दलको नेता चयन हुने सम्भावना प्रबल छ ।
विशेष महाविधेशनबाट आएको नेतृत्वलाई सर्वोच्च अदालतले आधिकारिकता दिएपछि शेरबहादुर देउवा समूहबाट आफू बाहिरिएर डा। शेखर कोइराला समूहले आफ्नै विचार समूह चलाउने बताइरहेको छ । तर, दलको नेतामा भने देउवा समूहलाई सघाउने कोइराला समूहका नेताहरू बताउँछन् । ‘दलको नेतामा देउवा समूहको उम्मेदवारलाई सहयोग हुन्छ,’ एक नेताले भने ।
संस्थापनतिर प्रत्यक्षतर्फ विजयी १२ र समानुपातिकतर्फ चार जना गरी १६ जना सांसद छन् । संस्थापन इतरका २२ सांसद छन् । इतरपक्षीय २२ मध्ये देउवानिकट १५ र कोइरालानिकट सात जना छन् । देउवा र डा। कोइराला समूह एक ठाउँमा भए भने दलको नेतामा सहज बहुमत हुन्छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट आएका सांसदहरूमध्ये प्रत्यक्षतर्फ संस्थापन र समानुपातिकतर्फ संस्थापन इतरका सांसद बढी छन् ।
प्रत्यक्षतर्फ संस्थापनक पक्षका ईलाम १ बाट निर्वाचित निश्कल राई, रौतहट २ बाट फिरदोश आलम, सोलुखुम्बुबाट प्रकाशसिंह कार्की, कपिलबस्तु ३ बाट अभिषेकप्रताप शाह , पाँचथरबाट नरेन्द्रकुमार केरुङ, तेह्रथुमबाट सन्तोष सुब्बा, रसुवाबाट मोहन आचार्य, मुगुबाट खड्ग शाही, दैलेख १ बाट बासना थापा, अछाम १ बाट भरतकुमार स्वार। डोटीबाट भरतबहादुर खड्का डोटी र बाजुराबाट जनकराज गिरी छन् । समानुपातिकबाट निर्वाचित अर्जुननरसिंह केसी, रेनुका काउचा, कालीबहादुर सहकारी र मनमाया विक संस्थापन पक्षीय हुन् ।
देउवा समूहबाट प्रत्यक्षतर्फ मनाङबाट टेकबहादुर गुरुङ, पाल्पा–१ बाट सन्दीप राना, हुम्लाबाट जयपति रोकाया, जाजरकोटबाट खड्कबहादुर बुढा र सुर्खेत–१ बाट विष्णुबहादुर खड्काले निर्वाचन जितेका छन् । समानुपातिक प्रणालीबाट सांसद भएका भीष्मराज आङ्देम्बे, गीता गुरुङ, सुशीला ढकाल आचार्य, निनुकुमारी कर्ण, शाहजान खातुन, मदनकृष्ण श्रेष्ठ, गंगालक्ष्मी अवाल, पवित्रा विक, सीता थपलिया ‘उर्मिला’ र हरिनादेवी कामी देउवा समूहका हुन् ।
यसैगरी कोइराला समूहबाट प्रत्यक्षतर्फ मुस्ताङबाट योगेश गौचन थकाली निर्वाचित भएका छन् । गीताकुमारी सेन्दाङ, रुक्मिणीदेवी कोइराला, रीना केसी ‘उप्रेती’, डा. प्रमिलाकुमारी गच्छदार, डा. चन्द्रमोहन यादव र रेखाकुमारी यादव समानुपातिकतर्फ विजयी भएका थिए ।
कांग्रेसबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ जितेका १८ र समानुपातिक प्रणालीबाट सांसद भएका २० गरी ३८ सांसद छन् ।





