काठमाडौँ । सर्वसम्मत रुपमा दलको नेता बनाउने कसरत असफल भएपछि नेपाली कांग्रेसले निर्वाचनबाट दलको नेता चयन गर्ने भएको छ ।
सभापति र उपसभापतिको सर्वसम्मतको प्रयास असफल भएपछि अन्तत निर्वाचन प्रक्रियाबाट चयन गर्ने भएको हो ।
प्राप्त खबर अनुसार वैशाख २ गतेदेखि प्रक्रिया सुरु गरिने र वैशाख ४ गते निर्वाचन गरिने भएको छ ।
दलको नेता चयनका लागि निर्वाचन समिति संयोजक बनेका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले वैशाख २ गते प्रक्रिया सुरु गर्ने र ४ गते निर्वाचन गर्ने तयारीमा लागेको जानकारी दिए ।
वैशाख ३ गते सहमतिको प्रयासका लागि समय दिइने रसाइलीले बताए । सकभर प्रक्रिया सुरु गरेर सर्वसम्मतिको प्रयास गर्ने, नभए निर्वाचनमार्फत दलको नेता चुन्ने तयारीमा आफूहरू लागेको स्नेहीले बताए।
दलको नेता छान्ने निर्वाचन समितिमा कांग्रेस केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटवाल सदस्य छन् ।
प्रतिनिधि सभामा १८ जना प्रत्यक्ष र २० जना समानुपातिकबाट गरी कांग्रेसका ३८ जना सांसदहरु निर्वाचित भएका छन् ।
३८ सांसदको नेता हुनका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य र भरतबहादुर खड्का गरी ४ नेताले इच्छा देखाएका छन् । केसी र आङदेम्बेले भने सार्वजनिक रूपमा नै दलको नेतामा दाबी रहेको बताएका छन् ।






