पोखरा । पोखरा महानगरपालिकाले वैशाख १ गतेबाट विपद तथा जोखिम न्यूनीकरण केन्द्र ‘डिआरआरसी’ सञ्चालनमा ल्याएको छ । पोखरा महानगरपालिका वडा नं ९ शान्तिवनस्थित दमकल कार्यालय परिसरमा रहेको केन्द्रको मंगलबारबाट सञ्चालनमा ल्याएको हो ।
महानगरले रु पाँच करोड २१ लाख लागतमा महानगर प्रहरी कार्यालय र केन्द्रको भवन निर्माण गरेको हो । पोखरामा प्राकृतिक विपद्का घटना बढ्दै गएको सन्दर्भमा विपद् तथा जोखिम न्यूनीकरण केन्द्र स्थापना गरिएको हो ।
केन्द्रले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा बाढी, पहिरो, डढेलोलगायत सम्भावित विपद्का घटनामा पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्ने बताईएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पोखरा विपद जोखिमका हिसाबले संवेदनशील रहेको बताउँदै यहाँका खोँच, नदी, तालहरूका कारण जोखिम बढी रहेकाले सञ्चालनमा ल्याइएको विपद् जोखिम न्यूनीकरण केन्द्रले अप्ठ्यारो र सङ्कटको अवस्थामा प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरिन् ।
प्रहरी तथा डिआरआरसी एकै स्थानमा रहेकाले महागनरमा विपद व्यवस्थापन तथा शान्ति सुरक्षा कायम गर्न तथा विपद् सामग्रीको भण्डारण गर्न सहयोग पुग्ने महागनर प्रमुख धनराज आचार्यले विश्वास व्यक्त गरे । उनले प्राकृतिक र गैरप्राकृतिक विपदबाट हुने जनधनको क्षति कम गर्न महानगरले योजनाबद्ध हिसाबले काम गरेको जानकारी दिए ।
विपदको हिसाबले जोखिम क्षेत्र रहेको पोखरा महानगर केन्द्रमा प्रविधि जडान गरी जोखिमयुक्त क्षेत्रहरूको निगरानी, सूचना सङ्कलन र विश्लेषण गरिने छ ।’विपद्जन्य घटनामा उद्धार र परिचालनका लागि केन्द्रले एकै ठाउँबाट काम गर्नेछ, आवश्यक दमकल, एम्बुलेन्स, उद्धार टोली र राहत सामग्रीको समन्वय केन्द्रबाट हुनेछ’ आचार्यले भने।
महानगरका अनुसार ३३ वटै वडामा वडास्तरीय विपद व्यवस्थापन समिति गठन गरेर स्थानीय समुदायलाई पहिलो प्रतिकार्यकर्ताका रूपमा तयार पारिएको छ ।






