पोखरा । नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय रहेका कास्कीका युवा नेता लेख बहादुर गुरुङले पार्टीको क्रियाशील राजनीतिबाट विश्राम लिएको घोषणा गरेका छन्।
मादी गाँउपालिका वडा नं १ सिक्लेसका गुरुङले सोमबार सामाजिक सञ्जालमार्फत पार्टीको कुनै पनि पदमा नरहने गरी स्वतन्त्र रहने घोषणा गरेका हुन् ।
नेपाली कांग्रेसको विद्यार्थी तथा युवा संगठनबाट राजनीतिमा प्रवेश गरेका, काँग्रेसका पुराना तथा सक्रिय कार्यकर्ता रहेका गुरुङले आफ्नो सामाजिक सञ्जालमा भनेका छन् ‘४५ साल देखिको नेपाली काँग्रेसलाई बिट मार्दै आजदेखि नेपाली काँग्रेसको साधारण सदस्य समेत नरहने गरी काँग्रेस पार्टीबाट अलग रहने निर्णय गरियो । वि.पि.लाई सिरानीमा राखेको छु। बाँकी नयाँ बाटो स्वतन्त्र नागरिक ।’
आफु प्रजातन्त्र र लोकतन्त्रमा बिश्वास गर्ने एक नागरिक भएको बताउँदै जरुवा खबरसंगको कुराकानीमा गुरुङले भने ‘महान् नेता विपी कोइरालाको जीवनी पढेर हुर्किएको म विपीको सिद्वान्त र तस्विर सिरानीमा राखी बाँकी जीवन स्वतन्त्र नागरिक भएर रहनेछु ।’
पछिल्लो समयमा पार्टीभित्र देखिएको आन्तरिक द्वन्द्व र गुटउपगुट, खिचातानीका साथै पदीय लुछाचुडीको अवस्थाका कारण पनि आफु स्वतन्त्र बस्न चाहेको बताउँदै उनले भने ‘पार्टीको पछिल्लो अवस्थाले मलाई राजनीतिक विश्राम लिन मन लागेको हो ।’
गुरुङ नेपाली काँग्रेसको जनसम्पर्क समिति मकाउका पूर्व अध्यक्ष तथा तमु (गुरुङ) संघ नेपालका केन्द्रिय सदस्य हुन् ।





