सृजना हत्या प्रकरणमा थप दुईजना पक्राउ
  • जरूवाखबर

  • पोखरा । पोखराको सभागृह चोक नजिक चैत २५ गते साँझ हत्या गरिएकी सृजना पौडेल केसीको हत्या प्रकरणमा संलग्न थप दुई जना पक्राउ परेका छन्। घटनामा संलग्न थप दुई जना आफ्नै भाञ्जा र ज्वाई रहेको प्रहरीले जनाएको छ ।

    सिर्जनालाई खुँडा प्रहार गर्ने सन्तोषका सहोदर भाइ पोखरा–५, जिरोकिमी बस्ने २४ वर्षीय बसन्त केसी र आफ्नै ज्वाई पर्वत फलेवास नगरपालिका वडा नं। ९ भंगारा स्थायी घर भई हाल पोखरा–१६, लामाचौर बस्ने २७ वर्षीय नवराज पौडेल क्षेत्रीलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

    हत्यामा संलग्न सन्तोषलाइ आफ्नै भाइ बसन्त र भाञ्जा नवराजले पोखराबाट भाग्ने क्रममा सहयोगीको भूमिका खेलेको भन्दैं प्रहरीले थप दुबैजनालाई पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता डिएसपी हरीबहादुर बस्नेतले जानकारी दिए । प्रहरीले केही दिन पहिले हत्या आरोपमा संलग्न भाञ्जा नाता पर्ने सन्तोष भन्ने शिशिर केसी र उनका साथी कुशल परियारलाई नियन्त्रणमा लिएको थियो ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, गत चैत २५ गते साँझ ७ः१५ बजे पोखरा महानगरपालिका वडा नं। ८ सभागृह चोक नजिक शिवालय चोकस्थित पोखरा–बाग्लुङ सडक खण्डमा मासु पसल बन्द गरेर पैदल घर फर्किँदै गरेकी ४२ वर्षीया सृजना पौडेल केसीमाथि पछाडिबाट खुडा प्रहार गरिएको थियो । उनलाई तत्काल गण्डकी मेडिकल कलेज पु¥याइए पनि राति ८:१८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यो हत्या पारिवारिक अंश र सम्पत्ति विवादकै कारण योजनाबद्ध रूपमा गरिएको हो । मृतक सृजना ‘खसी कृष्णे’को नामले चिनिने मासु व्यापारी कृष्ण केसीकी दोस्रो श्रीमती थिइन् । कृष्णको पहिलो श्रीमतीको निधनपछि करिब ९ वर्षअघि विवाह भएकी सृजनाको श्रीमान् ३ वर्षअघि बितेपछि उनी ४ वर्षीया छोरीसहित एक्लै जीवन गुजार्दै थिइन् । अदालतबाट बकसपत्र सम्बन्धी मुद्दामा सृजनाकै पक्षमा फैसला भएपछि परिवारभित्र अंश र सम्पत्तिको कलह चर्किएको प्रहरीले जनाएको छ ।

    घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय कास्की, गण्डकी प्रदेश प्रहरी कार्यालय र मातहतका वडा प्रहरी कार्यालयको संयुक्त टोलीले घटनास्थल नजिकका सीसीटीभी फुटेज, पारिवारिक पृष्ठभूमि र अन्य प्रमाण संकलन गर्दै अभियुक्तसम्म पुगेको थियो ।

  • १ बैशाख २०८३, मंगलवार २१:४४ प्रकाशित