काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको अनियन्त्रित मूल्यवृद्धिका कारण यातायात क्षेत्रमा संकट पैदा भएको भन्दै यातायात व्यवसायीले पुनः भाडा समायोजन वा मूल्य वृद्धि फिर्ताको माग गरेका छन् ।
सरकारले डिजेलको मूल्य बढाएसँगै भाडा वृद्धि गरेको एक साता पनि नबित्दै पुनः इन्धनको मूल्यमा भारी वृद्धि भएपछि व्यवसायीले यस्तो माग गरेका हुन् । नेपाल आयल निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै वैशाख ३ गते (बिहीबार) बिहान १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य समायोजन गरेको थियो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पछिल्लो समय डिजेलमा प्रतिलिटर कुल ५५ रुपैयाँसम्मको मूल्यवृद्धिले यातायात व्यवसाय धान्नै नसकिने अवस्थामा पुगेको बताए । उनले इन्धनको मूल्य वृद्धिको तुलनामा हालै गरिएको भाडा समायोजन अपर्याप्त रहेको र यसले व्यवसायीको लागत खर्च नउठ्ने दाबी गरे ।
व्यवसायीले अब बारम्बारको विवाद अन्त्य गर्न इन्धनको मूल्य घट्दा भाडा घट्ने र बढ्दा बढ्ने गरी वैज्ञानिक स्वचालित मूल्य प्रणाली कडाइका साथ लागू गर्न माग गरे । ‘राति १२ बजे मूल्य बढ्दा एक मिनेटमै लागु हुने तर भाडा समायोजनमा महिनौँ लाग्ने परिपाटीले व्यवसायी मारमा परे,’ सिटौलाले थपे ।
गत चैत २५ गते केन्द्र सरकारले सार्वजनिक यातायातमा भाडा समायोजन गरेको थियो । यातायात व्यवस्था विभागले १३ वटा सूचकलाई मध्यनजर गर्दै यात्रुवाहक सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिश, पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ । त्यसयता २ पटक इन्धनको मूल्य वृद्धि भइसकेको छ ।
नयाँ मूल्य सूची अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ वृद्धि गरिएको छ । पेट्रोलको मूल्य भने यथावत् राखिएको छ ।यसअघि चैत २६ गते डिजेलमा २५ रुपैयाँ र पेट्रोलमा १७ रुपैयाँ बढेको थियो ।





