पोखरामा सयपत्री फूलको मूल्य निर्धारण, प्रतिकेजी ५सय र प्रतिमाला २सय रुपैयाँ
  • जरूवाखबर

  • पोखरा, २० कार्तिक। आउँदै गरेको तिहार पर्वलाई लक्षित गर्दै पोखरामा सयपत्री फूलको बिक्री वितरणका लागि मूल्य र स्थान निर्धारण गरिएको छ। स्थानीय स्तरमा उत्पादित सयपत्री फूलको मूल्य निर्धारण र व्यवस्थित बिक्रि वितरणकालागि कात्तिक २२ गते आईतबारदेखि लागू हुने गरी १७ वटा स्थान तोकिएको छ।

    निर्धारण गरिएको मूल्यअनुसार सयपत्री फूल प्रतिकेजी पाँच सय रुपैयाँ र तयार पारिएको फूल प्रतिमाला २ सय रुपैयाँ कायम गरिएको छ।

    प्लास्टिकजन्य फूलमालाको प्रयोगलाई निरुत्साहित गर्दै स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित यो व्यवस्था मिलाइएको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

    फूलको बिक्री वितरणकालागि तोकिएका स्थानहरूमा देवी पञ्ज्ञ ज्येष्ठ नागरिक मिलन केन्द्र, टुँडिखेल पुरानो वडा कार्यालय, संगम चोक कृषि बजार चौतारी, नयाँ वडा कार्यालय परिसर र सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेड, महेन्द्रपुल ‘फल्चा’, पोखरा कोसेली घर पृथ्वीचोक, सिद्धार्थचोक ‘चौतारी’, पोखरा रंगशाला रहेका छन् ।

    यसैगरी किसान बजार वडा नं १३, वडा कार्यालय परिसर १४, किसान बजार वडा नं १५, ठुलीपोखरी किसान बजार वडा नं १६ र १९, किसान बजार विरौटा १७, किसान बजार खुदी ३०, कोट देउराली बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेड ‘बेगनास ताल’ ३१ तथा कृषि उपज थोक बजार तालचोक २७ मा फूल खरिदबिक्रीको व्यवस्था मिलाइएको छ।

  • २१ कार्तिक २०८३, शुक्रबार २२:३१ प्रकाशित