पोखरा, २० कार्तिक । कास्की प्रहरीले शान्ति सुरक्षा कायम गर्न पोखरामा ‘अपरेसन सभ्यता’ सञ्चालन गरेको छ । पर्यटकीय क्षेत्रमा झैझगडा गर्ने, पर्यटकलाई अनावश्यक दुःख दिने र दुर्व्यवहार गर्नेलाई नियन्त्रणमा लिई शान्ति कायम गर्ने उद्देश्यसहित अपरेशन सभ्यता सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
तिहार तथा छठ पर्वलाई सुरक्षित र सभ्य रूपमा सम्पन्न गराउने, पर्यटक तथा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्ने र पोखराको पर्यटनलाई अझ राम्रो बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको कास्की प्रहरी प्रमुख नबिन कार्कीको भनाई छ ।
पहिलो दिन लेकसाइड क्षेत्रबाट २१ जनालाई पक्राउ र २७ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले राति १ बजेदेखि बिहान ५ बजेसम्म पोखरा महानगरपालिका ६ लेकसाइड क्षेत्रमा गरिएको कारबाहीका क्रममा २१ जना पक्राउ गरेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी विरेन्द्र कुमार पासवानले जानकारी दिए ।
पक्राउ पर्नेमा झण्डीबुर्जा खेलाउने १० जना, अवाञ्छित गतिविधिमा संलग्न ६ जना, झगडा गर्ने २ जना, मादक पदार्थ सेवन गरि होहल्ला गर्ने ३ जना रहेको उनले बताए ।
त्यसैगरी, सवारीसाधन जाँचका क्रममा २७ वटा सवारीमाथि कारबाही गरिएको छ । कारवाहीमा परेका मध्ये १५ वटा सवारी साधनका चालकलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको कसुरमा कारबाही गरिएको छ भने २ वटा सवारी साधनका चालकलाई ट्राफिक नियम उल्लङ्घनमा कारबाही गरेको उनको भनाई छ । बाँकी १० वटा सवारीसाधन थप अनुसन्धान तथा कारबाहीका लागि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।





