बाल सामाजिक अभियन्ता प्रेन्सालाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार
  • जरूवाखबर

  • पोखरा, २१ कार्तिक। बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मीलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार प्रदान गरिएको छ। शनिबार पोखरामा आयोजित एक कार्यक्रमका बीच ५० हजार रुपैयाँ नगद राशि तथा सम्मानपत्रसहित पुरस्कार प्रदान गरिएको हो ।

    पोखराका मेयर धनराज आचार्य, अग्रज साहित्यकार सरुभक्त र पशुपति क्षेत्र विकास समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले उनलाई सो पुरस्कार प्रदान गरेका हुन्। पुरस्कार छनोट समितिको सिफारिसलाई सरुभक्त केन्द्रको कार्यसमितिले अनुमोदन गर्दै उक्त पुरस्कार अर्पण गर्ने निर्णय गरेको थियो।

    पुरस्कार छनोट समितिका संयोजक डा ईश्वरमणि अधिकारीका अनुसार प्रेन्साले सानै उमेरदेखि सामाजिक क्षेत्रमा देखाएको सक्रियता, मानवीय संवेदना तथा सामाजिक र आर्थिक रूपमा पछाडि परेका समुदायको हितमा पुर्याएको योगदानको मूल्यांकन गर्दै उनलाई पुरस्कारका लागि छनोट गरिएको हो।

    विसं २०६९ साल फागुन ६ गते म्याग्दी जिल्लाको मंगला गाउँपालिका नम्बर ७ मा जन्मिएकी प्रेन्सा हाल पोखरा नम्बर ११ फूलबारीमा बसोबास गर्दै आएकी छन्। उनी पोखरास्थित गण्डकी बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत छिन्। सानै उमेरदेखि सामाजिक सेवामा सक्रिय उनले समुदायका विभिन्न समस्या समाधानका लागि प्रयास गर्दै आएकी छन्।

    कार्यक्रममा बोल्दै मेयर आचार्यले बालबालिकालाई आफ्नो इच्छा अनुसार काम गर्न दिनुपर्ने बताउँदै प्रेन्साका अभिभावकले उनको भावना बुझेर त्यसै अनुसार व्यवहार गरेका कारण उनी अहिले यो अवस्थामा आइपुगेको बताए । बालबालिकालाई प्रेरणा र हौसला दिनु भनेको बिरुवामा पानी हाल्नु सरह रहेको उनको भनाई थियो ।

    केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा पशुपति क्षेत्र विकास समितिका सदस्य सचिव तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राडा कुसुमाकर न्यौपाने, संस्थाका उपाध्यक्ष एवं पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति सरस्वती प्रतीक्षा, पुरस्कार छनोट समिति संयोजक डा ईश्वरमणि अधिकारी, उपेन्द्र पौडेल, गण्डकी बोर्डिङ स्कुलका प्राचार्य विश्वयुधीर पौडेल घर्ती लगायत आआफ्नो भनाई राखेका थिए ।

    पुरस्कार ग्रहण गरेपछि बोल्दै प्रेन्सा रेग्मीले परिवर्तनका लागि उमेर, पद वा ठूलो सम्पत्ति नचाहिने बताइन्। परिवर्तन सानो कदमबाट सुरु हुने बताउँदै उनले आफ्नो उमेर र परिस्थितिलाई आफ्नो सीमा वा पहिचान नबनाउन आग्रह गरिन्। समाजसेवा भनेको अरूको पीडा महसुस गर्ने र अन्यायको समाधानका लागि जिम्मेवार कदम चाल्ने कुरा भएको उनले भनिन्, ‘हामीले समाजमा विद्यमान धेरै चुनौतीहरू देखिरहेका छौँ, बालबालिकामाथि हुने हिंसा, बालविवाह, सामाजिक कुरीति, लैंगिक विभेद, शिक्षामा असमान पहुँच, आर्थिक असमानता र अधिकारबाट वञ्चित समुदायका समस्याहरू अहिले पनि हाम्रो समाजमा विद्यमान छन्।’

    १६ वर्ष मुनिका बालप्रतिभाहरूलाई प्रदान गरिने यो पुरस्कार २०५७ सालमै स्थापित पुरस्कार हो। बीचमा केही वर्ष रोकिएपछि सरुभक्त केन्द्रको स्थापनासँगै अघिल्लोपटकबाट पुनः पुरस्कार वितरण गर्न थालिएको हो। यसअघि यो पुरस्कार तेम्बाछिरी शेर्पा, ज्योति थापा, ऋतु लामा, शिखा कटुवाल, करुणा गुरुङ, सिपोरा गुरुङ, कुशल केसी, निमा छ्याङदी शेर्पा र सुप्रिम मल्ल ठकुरीले पाइसकेका छन्।

     

  • २२ कार्तिक २०८३, शनिबार २१:५६ प्रकाशित