कास्की जिल्ला अदालतको फैसला सदर, पोखरा-२४ का वडाध्यक्षलाई जेल सजाय
  • जरूवाखबर

  • पोखरा। उच्च अदालत पोखराले पोखरा महानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना जेल सजाय हुने जिल्ला अदालतको आदेश सदर गरिदिएको छ । जातीय भेदभाव तथा छुवाछुत मुद्दामा उच्च अदालत पोखराले अधिकारीलाई दोषी ठहर गर्दै जिल्ला अदालतको फैसला सदर गरेको हो ।

    उच्च अदालतका न्यायाधीश द्वय अन्जु उप्रेती ढकाल र मेरिना श्रेष्ठको संयुक्त इजलासले कास्की जिल्ला अदालतले यसअघि गरेको कैद र जरिवानाको फैसलालाई सदर गर्ने आदेश दिएको हो ।

    २०७९ साल पुस १८ गते पोखरा – २४ को वडा कार्यालयमा  एक कार्यक्रमको दौरानमा आफ्नै वडा सदस्य मैया नेपालीसंग विवाद हुँदा अधिकारीले मैया नेपालीलाई जातीय विभेद हुने गरी अपमान र अमानवीय शब्द प्रयोग गरी गाली गलौज गरेका थिए । नेपालीले आफूमाथिको दुर्व्यवहार र विभेद विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिन् ।

    सो मुद्दामा २०८० मंसिर ७ गते कास्की जिल्ला अदालतकी न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले अधिकारीलाई दोषी ठहर गरेको थियो ।  अदालतले उनलाई जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ बमोजिम ४ महिना १५ दिन कैद र ७५ हजार जरिवाना तोकेको थियो भने पीडित नेपालीलाई १० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो ।

    जिल्ला अदालतको उक्त फैसलाविरुद्ध वडा अध्यक्ष अधिकारीले उच्च अदालतमा पुनरावेदन गरेका थिए। तर उच्च अदालतले पनि उनलाई दोषी नै ठहर गर्दै जिल्ला अदालतको फैसला सदर गरेको छ।

    अधिकारी २०७९ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्।

  • ९ बैशाख २०८३, बुधबार २०:४७ प्रकाशित