काँग्रेसको नियमित १५ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते पोखरामा हुने
  • जरूवाखबर

  • पोखरा, २८ कार्तिक । नेपाली कांग्रेस नियमित १५औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने भएको छ । अधिवेशन आयोजक समितिले शुक्रबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी प्रदेश अधिवेशनको मिति र कार्यतालिका सार्वजनिक गरेको हो ।

    प्रदेश अधिवेशन मूल आयोजक समितिका संयोजक एवं गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठका अनुसार मंसिर ५ गते पोखरा सभागृहमा सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन समारोहलाई पार्टीका शीर्ष तथा केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन् ।

    मंसिर ६ गतेको बन्दसत्र तथा निर्वाचन प्रक्रिया पोखरा-९ बाँस्तोलाथरस्थित सिल्भर पार्टी प्यालेसमा सम्पन्न हुनेछ । डा. शशांक कोइरालाको संयोजकत्वमा गठित केन्द्रीय महाधिवेशन तयारी समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रदेश तहको पहिलो अधिवेशन गण्डकीमा हुन लागेको हो ।

    पत्रकार भेटघाटमा दिइएको जानकारी अनुसार गण्डकी प्रदेशका ११ जिल्लामध्ये हालसम्म कास्की, स्याङ्जा, पर्वत, म्याग्दी र मनाङ गरी ५ जिल्लामा अधिवेशन सम्पन्न भई निर्विरोध कार्यसमिति चयन भइसकेको छ । जसअनुसार कास्कीमा ऋषिराम काफ्ले, स्याङ्जामा इन्द्र गोदार, पर्वतमा यमबहादुर मल्ल ‘रामकृष्ण’, म्याग्दीमा हिराबहादुर पुन र मनाङमा राजिव गुरुङ ९दिपक मनाङे० को नेतृत्वमा जिल्ला कार्यसमितिले संगठनको गतिविधि अघि बढाएको छ ।

    बाँकी जिल्लाहरूमध्ये नवलपुरमा कात्तिक २८, लमजुङमा मंसिर १, तनहुँमा मंसिर २ तथा बागलुङ र गोरखामा मंसिर ३ गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका छ भने मुस्ताङमा पनि छिट्टै अधिवेशन सम्पन्न गर्न गृहकार्य भइरहेको छ । देशभर भने हालसम्म ४० भन्दा बढी जिल्लामा अधिवेशन सकिएको सो पक्षले जनाएको छ ।

    अधिवेशनमा गण्डकी प्रदेशका ३६ प्रदेश निर्वाचन क्षेत्रबाट ७ सय ५६ जना प्रदेश प्रतिनिधि, १८ संघीय निर्वाचन क्षेत्रबाट ६ सय ३० जना केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश र संघीय क्षेत्रका सभापतिहरू ५४ जना, ८५ पालिका सभापति र ४० जना मनोनीत प्रतिनिधि सहभागी हुनेछन् ।

    यसका साथै भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, पालिकाका निर्वाचित प्रमुखरउपप्रमुख, अध्यक्ष र उपाध्यक्ष तथा प्रदेश र संघीय सांसदहरू समेत गरी १ हजार ६ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ ।

    अधिवेशनले विधान अनुसार १ सभापति, २ उपसभापति, २ खुला महामन्त्री र ३ सहमहामन्त्रीसहित प्रत्येक जिल्लाबाट ३ जनाका दरले ३३ जना, खुलाबाट १० जना र समावेशी कोटाबाट १७ जना सदस्य रहेको प्रदेश कार्यसमिति चयन गर्नेछ ।

    अधिवेशनको निर्वाचन प्रक्रिया सम्पन्न गर्न नेपाल बार एसोसिएसनका पूर्वकेन्द्रीय उपाध्यक्ष अधिवक्ता बिरेन्द्र केसीको संयोजकत्वमा प्रदेश निर्वाचन समिति गठन भई काम अघि बढेको छ । व्यवस्थापकीय तयारीका लागि मूल आयोजक समितिका अतिरिक्त गंगाधर पराजुलीको संयोजकत्वमा प्रचारप्रसार, विश्व प्रसाईंको संयोजकत्वमा अर्थ व्यवस्थापन, तरुणमणी सुवेदीको संयोजकत्वमा भोजन व्यवस्थापन, कुमार रानाको संयोजकत्वमा अतिथि स्वागत तथा मञ्च व्यवस्थापन र प्रेमलाल पुनको संयोजकत्वमा तरुण युवा समन्वय उपसमिति गठन गरिएको छ । प्रचारप्रसार उपसमितिमा इन्द्र रिजाल, इन्द्र गोदार, डम्बर अधिकारी, प्रबिण कैनी, उज्वल गुरुङ, अनिता मल्ल, सुरेन्द्रनाथ शर्मा र डा। गोबिन्द लामिछाने लगायतका नेताहरू रहेका छन् ।

    अधिवेशन सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । उक्त खर्च प्रतिनिधिहरूको रजिष्ट्रेसन शुल्क, उम्मेदवारी दर्ता शुल्क र पार्टीका नेता तथा शुभचिन्तकहरूबाट प्राप्त हुने स्वस्फूर्त आर्थिक सहयोगबाट व्यवस्थापन गरिने अर्थ व्यवस्थापन उपसमितिले जनाएको छ ।

  • २९ कार्तिक २०८३, शनिबार १०:५२ प्रकाशित